नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकसित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरे पनि नेपालमा कहिल्यै त्यस्तो नभएको बताएका छन् ।
नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताएका हुन् ।
उनका अनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिन सक्छ । अहिले सरकारले लिएको वित्तीय नीति र मौद्रिक नीति लचक रहेको पूर्वगभर्नर नेपालले बताए । नेपालका अनुसार मौद्रिक नीतिले धेरै लचकता लिएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलाउने अपेक्षा गरिएको छ । यद्यपि लचिलो मौद्रिक नीतिका कारण जोखिमहरु पनि धेरै रहेको उनले बताए ।
ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु, धेरै पैसा बजारमा थुप्रिनु सकारात्मक नरहेको उनले बताए । उनले भने, ‘भोलिका दिनमा पैसा उपभोगमा मात्रै गयो भने आयात बढेर फेरि विदेशी सञ्चितिमा बढी दबाब पर्ने त होइन ? हामीलाई हिजोका दिनमा विदेशी सञ्चितिमा असर पर्दा के भएको थियो, त्यसको हेक्का समेत राख्नुपर्छ । भोलि उपभोक्ताहरुले थेरै ब्याजदर भयो भन्दै बैंकबाट निक्षेप निकालेर अब हामी यसलाई उपभोग गर्छौं भन्न थाले भने ब्याजदर बढ्न सक्छ । लामो समयसम्म लगानी गर्नका लागि न्यून ब्याजदर कहिलेसम्म रहन्छ भन्ने हामीले हेर्नुपर्ने स्थिति छ ।’
अर्थतन्त्र चलायमान नभएका बेला विस्तारकारी ठूलो बजेट चाहिने उनले बताए । नेपालले भने, ‘ठूला आयोजनामा लगानी गर्ने बजेट, करका दर घटाउने बजेट चाहिन्छ । त्यतिमात्रै नभई विकसित देशमा कतिको खातामै सरकारले खर्च गर भनेर पैसा नै पठाइदिन्छ । त्यस्तै नेपालमा पनि सरकारको बजेटबाट त्यसो गर्न सक्नुपर्छ ।’


