Banijya News

साढे ७६ करोड रुपैयाँको कोदोजन्य खाद्यान्न आयात

1
1.1K Shares

एक वर्षको अवधिमा करिब साढे ७६ करोड रुपैयाँको कोदोजन्य खाद्यबाली आयात भएको छ । आ.व २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको १८ हजार तीन सय १६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको हो। कोदोजन्य बालीमा प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्त्वहरूको राम्रो स्रोत हुने भएकाले यसको प्रयोग हुन्छ।

नेपालबाट कोदोजन्य उत्पादन विदेश पनि निर्यात हुने गरेको छ। गत आवमा ९४ लाख ७ हजार रुपैयाँ बराबरको ७० मेट्रिक टन कोदोजन्य उत्पादनको निर्यात भएको भन्सार विभागले जनाएको छ।

कोदोजन्य बालीहरूको आयात रोक्न उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए।

पछिल्लो समय अस्वस्थ कर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीव्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीको रूपमा देखा पर्दै आएको छ। कोदोजन्य बाली उत्पादन र उपभोगमा वृद्धि मार्फत विद्यमान समस्या समाधानमा योगदान पुर्‍याउन सकिने विज्ञले बताएका छन्।

कोदोजन्य बालीहरूले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

नेपालमा धान, मकै र गहुँ पछि कोदो चौथो मुख्य खाद्यान्न बाली हो। कोदोलाई पहाडी क्षेत्रमा मकै पछिको महत्त्वपूर्ण बालीको रुपमा लिइन्छ। यसको खेती सिँचाइ कम हुने, कम मलिलो, पाखो बारी र आकासे पानीको भरमा पनि गर्न सकिन्छ।

जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २०८०/८१ मा दुई लाख २४ हजार ९ सय ३५ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती भई तीन लाख सात सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको छ। कोदोजन्य बालीको उत्पादकत्व केवल १.३३ मे.टन प्रति हेक्टर रहेको छ।

संयुक्त राष्ट्र संघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली’ वर्षको रुपमा मनाउने घोषणा गरे अनुरूप नेपालमा पनि विभिन्न गतिविधिहरू सञ्चालन गरि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाएको थियो।

1

Scroll to Top