बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा जम्मा हुने निक्षेपको अनुपात निरन्तर घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार २०८२ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा ५०.२ प्रतिशत रहेको छ ।
अघिल्ला वर्षका जेठसम्मको तुलनामा गत आवको जेठसम्ममा मुद्दती निक्षेपको हिस्सा घट्दै गएको हो । यसअघि २०८१ जेठमा कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ५८.५ प्रतिशत थियो । केही वर्षअघि मुद्दती निक्षेप बढ्ने प्रवृत्ति रहेकोमा अहिले भने घट्दो देखिएको छ ।
२०७८ जेठमा कुल निक्षेपमा ४८.५ प्रतिशत मुद्दती रहेकोमा २०७९ जेठमा बढेर ५७.१ प्रतिशत पुगेको थियो । त्यस्तै, २०८० जेठमा कुल निक्षेपमा मुद्दतीको हिस्सा ५९.८ प्रतिशत पुगेकोमा त्यसयता घट्दै गइरहेको हो । २०८१ जेठमा कुल निक्षेपमा ५८.५ प्रतिशत मुद्दतीको हिस्सा रहेकोमा २०८२ जेठमा ५०.२ मा झरेको छ ।
बैंकहरुले मुद्दती खातामा हुने निक्षेपको ब्याज घटाउँदै जाँदा निक्षेपको अंशसमेत घट्दै गएको हो । विगतमा दोहोरो अंकमा रहेको निक्षेपको ब्याजदर पछिल्ला वर्षहरूमा बैंकहरूले घटाउँदै आएका छन् । मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ ।
बैंकरहरूले पनि अहिले तलरता पर्याप्त रहेको सन्दर्भमा मुद्दतीमा भन्दा साधारण बचततर्फ लगानीकर्तालाई आकर्षित गर्नुपर्ने अवस्था रहेको बताउन थालेका छन् । सोहीअनुसार ब्याजदर घटाएर यस किसिमको परिस्थिति सिर्जना गर्न थालिएको उनीहरूको भनाइ छ । यसरी निरन्तर ब्याजदर घट्दै जाँदा मुद्दती निक्षेप पनि घट्दै गइरहेको हो ।
अहिले मुद्दती खाताको निक्षेप झिकेर सेयर बजारतर्फ लगानी गर्ने क्रम बढिरहेको छ । त्यसबाहेक अन्य लगानीका विकल्पहरूमा पनि बचतकर्ताले ध्यान दिन थालेका छन् । पछिल्लो समय सेयर बजारमा कर्जा लगानी सहज भएसँगै लगानीकर्ताले मुद्दती निक्षेपमा रकम राख्नुभन्दा त्यसतर्फ लगानी बढाउन उपयुक्त हुने देखेका छन् ।
मुद्दती निक्षेप धेरै समयसम्म घटिरहेमा समस्या सिर्जना हुने भए पनि अहिले मुलुकको अवस्थाका कारण समस्या नै आउँछ भन्न नसकिने विज्ञहरुको भनाइ छ । अर्थात् अहिले लगानीका लागि उपयुक्त अवसर नभइरहेको सन्दर्भमा मुद्दती खाताबाट रकम झिकेर समस्या नहुने उनीहरूको भनाइ छ । मुद्दती निक्षेप निश्चित समय अवधि तोकेर राखिने र यस्तो खातामा ब्याजदर तुलनात्मक रुपमा बढी भए पनि तोकिएको समय समाप्त नभएसम्म उक्त रकम भुक्तानी लिन नपाइने भएकाले पछिल्लो समय यस्तो निक्षेपको अनुपात घटेको हो ।
विगतका केही महिना ब्याजदर बढ्ने आशाले सरकारी ट्रेजरी बिल्स लगायतका अल्पकालीन उपकरणमा लगानी गरिरहेका ठूला संस्थागत निक्षेपकर्ता फेरि मुद्दतीमै फर्कन थालेका छन् । ब्याजदर घटेपछि ट्रेजरी लगायतका अल्पकालीन उपकरणबाट उनीहरूले मुद्दती निक्षेपमा बचत फर्काउन थालेका हुन् । बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले अहिले मुद्दती निक्षेपमै पैसा राख्न थालेको देखिन्छ ।
बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याजदर बढ्ने अवस्था नरहेकाले पछिल्लो समय मुद्दती निक्षेपतर्फ नै लगानी बढ्दै गएको छ । त्यसले विगतमा घट्दै गएको निक्षेपमा मुद्दती निक्षेपको हिस्सा क्रमशः बढ्न सक्ने देखाएको बैंकरहरू बताउँछन् । यद्यपि, पछिल्लो समय एक वर्षभन्दा बढी समयका लागि मुद्दती निक्षेपमा रकम राख्न बचतकर्ता चाहिरहेका छैनन् । संस्थागत निक्षेपकर्ताले एक वर्षसम्मको समयका लागि मात्रै मुद्दतीमा पैसा राख्ने गरेको बैंकरहरूको बुझाइ छ ।


