नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैङ्कका अध्यक्षहरूलाई अनावश्यक लगानी वृद्धि नगर्न सचेत गराएका छन्।
वाणिज्य बैङ्कका अध्यक्षहरूसँगको छलफलमा गभर्नर पौडेलले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिएको उल्लेख गर्दै सोहीअनुसार व्यवसायिक योजना बनाउन निर्देशन दिए। उनले विगतमा लचिलो नीतिका कारण बैंकहरूले जथाभाबी लगानी गर्दा बैंकिङ क्षेत्रमा संकट आएको स्मरण गराउँदै यस्तो गल्ती दोहोर्याउन नहुनेमा जोड दिए।
छलफलको मुख्य एजेन्डा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमा प्रस्तावित बैंकर र व्यवसायी छुट्याउने व्यवस्था थियो। यो प्रस्तावले बैंकिङ क्षेत्र र निजी क्षेत्र दुवैमा तरंग ल्याएको छ। बाफिया संशोधनमा उल्लेख्य स्वामित्व (हाल २ प्रतिशत) लाई १ प्रतिशतमा झार्ने र यस्तो स्वामित्व भएका लगानीकर्तालाई व्यवसायका लागि कर्जा लिन नदिने प्रस्ताव गरिएको छ। यस्तै, सम्बद्ध व्यक्तिको परिभाषालाई थप विस्तृत बनाउने कुरा पनि समेटिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो व्यवस्थाले नेपालको समग्र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने चेतावनी दिए। उनले भने, “बैंकर र व्यवसायी छुट्याउने व्यवस्थाले उद्योग–व्यवसाय बन्द हुने जोखिम छ। प्रमोटरहरूलाई ५१ प्रतिशत सेयर अनिवार्य राख्न लगाउने, तर १ प्रतिशतभन्दा बढी सेयर भएकालाई कर्जा नदिने हो भने कसरी व्यवसाय चल्छ?” उनले उपयुक्त ‘एक्जिट प्लान’ र पर्याप्त समय नदिएमा यो नीतिले आर्थिक संकट निम्त्याउने बताए।


