सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण छलफल सुरु भएको छ। केही बेरअघिबाट सुरु भएको यो भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा मन्त्री हेरफेरको सम्भावना र विशेषगरी बागमती प्रदेश सरकारमा देखिएको किचलो लगायतका विषयमा छलफल हुने बताइएको छ ।
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् । नेपाली कांग्रेसका तर्फबाट भने सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक उपस्थित छन् ।
यस छलफलले सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसका साथै मन्त्रिमण्डल परिवर्तनको एजेण्डा समेत रहेको स्रोतको भनाई छ । स्रोतका अनुसार मन्त्रीमण्डलबाट शरदसिंह भण्डारी, बद्री पाण्डे, रमेश लेखक लगायत केही मन्त्री समेत परिवर्तन हुने सहमति हुने छ ।


