Banijya News

संखुवासभालाई जलविद्युत्को केन्द्र बनाउन स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक छ: मन्त्री खड्का

1
1.2K Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले संखुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

खाँदबारी नगरपालिका-१ मा बिहीबारदेखि सुरु भएको २० दिने ‘पावर हाउस सञ्चालन तथा मर्मतसम्भार’ तालिमको उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने, “संखुवासभा जलविद्युत्को ठूलो सम्भावना बोकेको जिल्ला हो। यहाँ निर्माणाधीन अरुण तेस्रो, अपर अरुणजस्ता ठूला आयोजनाहरूलाई सफल बनाउन प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका महत्त्वपूर्ण हुन्छ।”

उनले जलविद्युत् आयोजनाहरू सञ्चालनमा आउँदा स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि यस्ता सीप विकासका तालिमहरू अपरिहार्य रहेको बताए। साथै, उनले सीप विकासले रोजगारीको आधार मात्र नभई आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्ने बताए।

मन्त्री खड्काले स्थानीय युवाहरूलाई दक्ष बनाउन भविष्यमा खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको पनि जानकारी दिए। यस शिक्षालयमार्फत स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न क्षेत्रमा सीप तालिमहरू सञ्चालन गरिने उनको भनाइ थियो।

जिल्लाका १० वटै पालिकाका सहभागीहरूलाई २० दिनसम्म चल्ने यो तालिममा १२० घण्टाको पाठ्यक्रम समावेश गरिएको छ। तालिमपश्चात् सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले उनीहरूलाई जलविद्युत्का आयोजनामा काम गर्ने अवसर प्रदान गर्नेछ।

1

Scroll to Top