सरकारले वैदेशिक ऋण लिएर वैदेशिक ऋण तिर्नलाई नै ऋणको ठुलो हिस्सा खर्च गर्दै आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार सरकारले संविधान निर्माणपछिको १० वर्षमा १० खर्ब ८७ अर्ब १२ करोड ३२ लाख रुपैयाँ वैदेशिक ऋण लिएर दुई खर्ब ८० अर्ब नौ करोड ७८ लाख रुपैयाँ सोही ऋण तिर्नमा नै खर्च गरेको छ ।
त्यस अवधिमा सरकारले ब्याज भुक्तानीसहित आठ खर्ब सात अर्ब दुई करोड ५३ लाख रुपैयाँ वैदेशिक ऋण विभिन्न आयोजना तथा कार्यक्रममा परिचालन गरेको छ ।
सरकारले गत आर्थिक वर्षमा विभिन्न बहुपक्षीय निकायसँग एक दर्जन आयोजना तथा कार्यक्रम सञ्चालन गर्नेगरी दुई खर्ब बढीको ऋण सम्झौता गरेको छ । यातायात पूर्वाधारदेखि विपद् व्यवस्थापन, कृषि, सिँचाइ, वातावरण तथा जलवायु, पानी, उर्जा लगायतका क्षेत्रका परियोजना सञ्चालन गर्नेगरी सरकारले सो सम्झौता गरेको हो ।
सरकारले गत वर्ष सबैभन्दा धेरै बहुपक्षीय निकाय एसियाली विकास बैंक र त्यसपछि विश्व बैंकसँग ऋण सम्झौता गरेको छ । साथै, सरकारले गत आवमा आईएफएडी र स्ट्राटेजिक क्लाइमेट फन्डबाट पनि ऋण लिने सम्झौता गरेको छ ।
पछिल्लो समय सरकार वैदेशिक ऋण परिचालनमा कमजोर बन्दै गएको छ । अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा कुल बजेटको तुलनामा वैदेशिक सहायता परिचालनको अंश घट्दै गएको हो ।
आर्थिक वर्ष ०७७/७८ मा दुई खर्ब नौ अर्ब ४३ करोड वैदेशिक सहायता परिचालन गरेको सरकारले आर्थिक वर्ष ०८०-८१ मा आइपुग्दा त्यस्तो परिचालन एक खर्ब ११ अर्ब २३ करोडमा सीमित भएको थियो ।
यसका साथै गत आर्थिक वर्षमा सरकारले एक खर्ब २५ अर्ब ३९ करोड ९९ लाख मात्रै ऋण परिचालन गर्न गरेको थियो । जबकी उक्त आर्थिक वर्षमा सरकारले दुई खर्ब १७ अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । सरकारले चालु आर्थिक वर्षमा दुई खर्ब ३३ अर्ब ६६ करोड वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।


