Banijya News

कर्णाली डेभलपमेन्ट बैंक घोटालाः राष्ट्र बैंकका कर्मचारीले २० लाख लिएको दाबी

1
1.2K Shares

काठमाडौंः कर्णाली डेभलपमेन्ट बैंकमा भएको १ खर्ब ३३ करोड रुपैयाँको अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको संलग्नता पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानबाट राष्ट्र बैंकका एक पूर्वकर्मचारीले बैंकको घोटालामा सहयोग गरेको खुलेको हो । यस घटनाले राष्ट्र बैंकको सुपरीवेक्षण विभागमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।

सीआईबीको अनुसन्धानले कर्णाली डेभलपमेन्ट बैंकमा नक्कली सुन धितोमा ऋण प्रवाह, बचतकर्ताको निक्षेप दुरुपयोग गरी संस्थापक सेयरधनीले हकप्रद सेयर भर्न लगाएको, र करिब तीन दर्जन नक्कली कम्पनी खडा गरी ऋण अपचलन गरेको जस्ता ठूला अनियमितताहरू भएको पत्ता लगाएको छ ।
स्थलगत अनुगमनमा नगए पनि ढाकछोपको जिम्मा
यस प्रकरणमा प्रहरीले राष्ट्र बैंकका पूर्वकर्मचारी भुवनसिंह बस्नेतसहित १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । बस्नेतले आफू स्थलगत अनुगमनमा नगएको दाबी गरे पनि सुपरीवेक्षण टोलीको सुपरभाइजरको हैसियतमा उनले बैंकको उच्च व्यवस्थापनसँग मिलेमतो गरी अनियमितता लुकाएको प्रहरीको भनाइ छ ।

बस्नेतमाथि स्थलगत अनुगमनमा गएका सहायक निर्देशक टेकराज भण्डारी र राजनप्रसाद रेग्मीले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर कर्णाली डेभलपमेन्ट बैंकका गलत गतिविधिहरूलाई ढाकछोप गरेको आरोप छ । प्रहरीका अनुसार बस्नेतले बैंकबाट करिब २० लाख रुपैयाँ भुक्तानी लिएको देखिन्छ, जसमा १० लाख रुपैयाँको कुनै स्पष्ट विवरण छैन । यसले उनको संलग्नतालाई थप शंकास्पद बनाएको छ ।

सुपरीवेक्षण विभागमाथि प्रश्न
यो घटनाले राष्ट्र बैंकको सुपरीवेक्षण विभागलाई ‘मालदार’ विभागको रूपमा हेर्ने गरिन्छ भन्ने पुरानो आरोपलाई सप्रमाण पुष्टि गरेको छ । पूर्वकर्मचारीहरूले समेत सुपरीवेक्षण विभागमा काम नगरेको भन्दै बाह्य आम्दानीको प्रसंगमा आफूलाई चोख्याउने गरेको भनाइले यो विभागमा सरुवा हुनका लागि ठूलो शक्ति संघर्ष हुने गरेको र त्यसको मुख्य उद्देश्य व्यक्तिगत लाभ रहेको कुरा बाहिर ल्याएको छ ।

प्रहरीको अनुसन्धानले स्थलगत निरीक्षणमा गएका कर्मचारीहरू सबैको मिलेमतोबिना यति ठूलो सूचना लुकाउन सम्भव नभएको आशंका पनि व्यक्त गरेको छ । यो प्रकरणले वित्तीय क्षेत्रको नियामक निकायमा रहेको भ्रष्टाचार र मिलेमतोको जालोलाई उदाङ्गो पारेको छ ।

1

Scroll to Top