Banijya News

विकासोन्मुख राष्ट्र बन्न लागेको नेपाललाई ब्याजदरको चुनौती

1
1.2K Shares

अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको नेपालका लागि अब विदेशी ऋण महँगो हुने भएको छ। नेपालको आर्थिक हैसियतमा सुधार आएको भन्दै प्रमुख दातृ निकायहरूले ऋणको ब्याजदर बढाउन थालेका छन्। यसले नेपालको विकास परियोजनाहरूमा थप वित्तीय भार पर्ने देखिएको छ।

नेपालको सबैभन्दा ठूलो दातृ निकायमध्येको एक विश्व बैंकले जुलाईबाट लागू हुने गरी ऋणको ब्याजदर बढाएको छ। यसअघि शून्य दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण दिँदै आएको विश्व बैंकले अब यसलाई बढाएर एक दशमलव ५ प्रतिशत पुर्‍याएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार, लगातार तीन वर्षसम्म नेपालको प्रतिव्यक्ति आय एक हजार तीन सय पैँतीस डलर ($1,335) भन्दा माथि पुगेकाले विश्व बैंकले आफ्नो नीतिअनुसार ब्याजदर बढाएको हो। यसअघि प्रतिव्यक्ति आय एक हजार तीन सय डलर ($1,300) भन्दा कम हुँदा नेपालले सहुलियतपूर्ण ब्याजदरमा ४० वर्षसम्मका लागि ऋण पाउँथ्यो, तर अब यो अवधि घटेर ३० वर्षमा झरेको छ।

विश्व बैंकपछि जापानले पनि ऋणको ब्याजदर बढाउने संकेत दिएको छ। जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) मार्फत नेपालले हालसम्म शून्य दशमलव शून्य एक प्रतिशत जस्तो नगण्य ब्याजदरमा ऋण पाइरहेको थियो। तर, अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार जाइकाले सन् २०२६ बाट ब्याजदर बढाएर २ प्रतिशतसम्म पुर्‍याउने प्रस्ताव गरेको छ। यसले नागढुंगा सुरुङमार्ग जस्ता ठूला परियोजनामा भविष्यमा लिइने ऋणमा थप लागत बढ्ने देखिन्छ। यद्यपि, पहिले नै प्रतिबद्धता भइसकेका ऋणमा भने नयाँ ब्याजदर लागू हुने छैन।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदैछ। यद्यपि, ब्याजदर बढ्नुको कारण यो स्तरोन्नति नभई नेपालको प्रतिव्यक्ति आयमा भएको वृद्धि हो। तर, यसले भविष्यमा नेपालले अल्पविकसित राष्ट्रका रूपमा पाउँदै आएका सहुलियत र अनुदानमा कमी आउन सक्ने खतरा भने बढाएको छ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार, स्तरोन्नतिपछि नेपालले अन्तर्राष्ट्रिय व्यापार र विकास सहयोगमा पाउँदै आएको प्राथमिकता गुमाउन सक्छ। यसले सहुलियतपूर्ण ऋणको सट्टा महँगो ब्याजदरको कर्जा लिनुपर्ने बाध्यता सिर्जना गर्न सक्छ। उनले यो चुनौती सामना गर्न नेपालको तयारी कमजोर रहेको र सरकारले वैकल्पिक स्रोतको खोजीमा ध्यान दिन नसकेको बताएका छन्।

अर्थका अधिकारीहरू पछिल्ला वर्षहरूमा अनुदान प्राप्ति सकसपूर्ण बन्दै गएको बताउँछन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि अमेरिकी अन्तरराष्ट्रिय सहयोग संस्था यूएसएड बन्द भएको छ । यो संस्था नेपालमा अनुदानको हिसाबले सबैभन्दा ठूलो थियो । बेलायतको फरेन कमनवेल्थ डेभलपमेन्ट अफिस (एफसीडीओ) ले पनि सहायता कटौती गर्दै लगेको छ । बेलायतले गत फेब्रुअरीमा सन् २०२७ बाट लागू हुने गरी वैदेशिक सहायता राष्ट्रिय आयको शून्य दशमलव ५ प्रतिशतबाट शून्य दशमलव ३ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

फ्रान्सले विदेशी सहायता ३५ प्रतिशतले कटौती गरेको बताउँदै हालको सहायताको पनि समीक्षा गर्ने बताएको छ । बेल्जियमले वैदेशिक सहायता २५ प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ । स्वीट्जरल्यान्डले सन् २०२८ बाट लागू हुने गरी अल्बानिया, बंगलादेश र जाम्बियालाई विकास सहायता नदिने घोषणा गरेको छ । नेदरल्यान्डस्‌ले सन् २०२७ देखि लागू हुने गरी विदेशी सहायता समग्र राष्ट्रिय आयको शून्य दशमलव ६२ प्रतिशतबाट घटाएर शून्य दशमलव ४४ प्रतिशत कायम गर्ने बताएको छ ।

1

Scroll to Top