Banijya News

महिन्द्राले किन्यो एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व

1
1.2K Shares

भारतको मुख्य गाडी उत्पादक कम्पनीमध्ये एक महिन्द्रा एन्ड महिन्द्रा (एम एन्ड एम) लिमिटेडले जापानको सुमितोमो कर्पोरेसन र इसुजु मोटर्सबाट एसएमएल इसुजुको ५८.९६ प्रतिशत स्वामित्व खरिद गरेको छ ।

महिन्द्रा एन्ड महिन्द्राले पाँच अर्ब ५५ करोड भारतीय रुपैयाँ (भारु) मा इसुजुको ५८.९६ प्रतिशत स्वामित्व खरिद गरेको हो । कम्पनीले प्रतिसेयर मूल्य ६५० रुपैयाँमा एसएमएलको स्वामित्व किनेको हो ।

स्वामित्व खरिदले महिन्द्रा एन्ड महिन्द्रालाई व्यावसायिक सवारी साधनको क्षेत्रमा बजार विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनाको एक कदम नजिक पुर्‍याएको छ । स्वामित्व खरिद गरेपछि महिन्द्राले एसएमएलको बोर्डको पुनर्संरचना गरेको जनाएको छ ।

महिन्द्रा एन्ड महिन्द्राले अगस्ट ३ देखि विनोद सहायलाई एसएमएल इसुजुको कार्यकारी अध्यक्ष र डा. वेंकट श्रीनिवासलाई अगस्ट १ देखि एसएमएल इसुजु लिमिटेडको कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । यस्तै, नयाँ बोर्डले बजारमा बलियो उपस्थित जनाउन एसएमएलको पुनः ब्रान्डिङको योजना बनाएको छ ।

एसएमएलको ट्रक र बस खण्डमा भारतभर बलियो उपस्थिति छ । आईएलसीभी र हलुका व्यावसायिक सवारी साधन बसमा १६ प्रतिशत बजार हिस्सा छ । बम्बई स्टक एक्सचेन्ज (बीएसई)मा महिन्द्रा एन्ड महिन्द्राको सेयर प्रति कित्ता ३,१६० भारुसम्म कारोबार भएको छ ।

कम्पनीको नाम पनि परिवर्तन गरी एसएमएल महिन्द्रा लिमिटेड बनाउने घोषणा गरेको छ । नियामक निकायबाट स्वीकृति पाएपछि कम्पनीको नाम परिवर्तन हुने महिन्द्राले जनाएको छ ।

महिन्द्रा एन्ड महिन्द्राले व्यावसायिक सवारी साधन क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने एसएमएलको बहुमत हिस्सा खरिदलाई अन्तिमरूप दिएको जनाएको छ ।

महिन्द्राले एसएमएलको प्रवर्द्धक सुमितोमो कर्पोरेसनको ४३.९६ प्रतिशत हिस्सा र इसुजु मोटर्स लिमिटेडको १५ प्रतिशत हिस्सा पनि छुट्टै प्राप्त गरेको छ । महिन्द्राले सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)को स्वामित्व किनबेच नियमअनुसार योग्य सार्वजनिक सेयरधारकहरूबाट २६ प्रतिशतसम्मको हिस्सा खरिदका लागि अनिवार्य खुला प्रस्ताव पनि सुरु गर्ने भएको छ ।

३.५ टनभन्दा बढी क्षमता भएका कमर्सियल भेहिकल खण्डमा बलियो उपस्थिति स्थापित गर्ने दिशामा महिन्द्राका लागि एउटा ठूलो कदम हो । एसएमएलको सेयर खरिदले बजार हिस्सा दोब्बर पारेर ६ प्रतिशत पुर्‍याउने लक्ष्य महिन्द्राको छ । कम्पनीले आर्थिक वर्ष ३१ सम्ममा १० देखि १२ प्रतिशत र सन् २०३६ सम्म २० प्रतिशत पुर्‍याउने योजना बनाएको छ ।

कम्पनीको हाल ३ प्रतिशत बजार हिस्सा छ । जबकि, साढे तीन टनभन्दा कम क्षमता भएका एलसीभी खण्डमा ५४.२ प्रतिशत बजार हिस्सा भएको कम्पनीले जनाएको छ ।

यो रणनीतिक कदमले आगामी सन् २०३६ सम्ममा उल्लेखनीय वृद्धिलाई लक्षित गर्दै ३.५ टनभन्दा माथिको सवारी साधनको बजार हिस्सा उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ ।

महिन्द्रा एन्ड महिन्द्रा नेपालमा अधिक रुचाइएको गाडीमध्ये पर्छ । महिन्द्राको नेपालमा बजार हिस्सा राम्रो छ । पछिल्लो समय एसएमएलले पनि बजार हिस्सा बढाइरहेको छ ।

1

Scroll to Top