Banijya News

पर्वतमा दुई सय २४ उद्योग बन्द

1
1.1K Shares

पर्वतमा २२४ वटा उद्योग बन्द भएका छन् । कोभिड संक्रमणपछि मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभावसँगै उद्योग बन्द हुने क्रम बढेको हो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आव २०८१/८२ मा ७० वटा उद्योग दर्ता भएकोमा १२० वटा खारेज भएका छन् । ६६ वटा वाणिज्य फर्म दर्ता भएकोमा १०४ फर्म खारेज भएको कार्यालयका सूचना अधिकारी भीम अर्यालले जानकारी दिए । पर्वतमा आव २०८०/८१ मा २३६ उद्योग बन्द भएका थिए । दैनिकजसो दर्ता गर्नेभन्दा बन्द गर्ने संख्या बढी हुने गरेको अर्यालले बताए ।

उनका अनुसार यस वर्ष दर्ता भएका र खारेज भएका संख्यालाई आंकलन गर्दा ८८ वटाले कमी आएको छ । अब पर्वतमा उद्योगको संख्या तीन हजार १४४ र वाणिज्य फर्मको संख्या दुई हजार ८७७ कायम रहेको उनले बताए । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायतका कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालयका सूचना अधिकारी अर्यालले बताए ।

उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर पौडेलले बताए । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उनको भनाइ छ । नयाँ व्यावसाय गर्नेभन्दा पुराना व्यवसायी विस्थापित हुँदै गएको उनले बताए । लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यावसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनु परेको उनको भनाइ छ ।

1

Scroll to Top