सवारीसाधन कर्जामा बैङ्कहरूबिच नै प्रतिस्पर्धा देखिएको छ । नेपालीहरूको ठुला चाडपर्वको मुखमा हुन लागेका दुई ठुला सवारीसाधन प्रदर्शनीले अटो बजारमा उत्साह ल्याएको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले पनि पर्याप्त लगानीयोग्य पुँजीको सदुपयोग गर्दै सवारीसाधन खरिदका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका छन्। नेपाल अटो मोबाइल इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले काठमाडौँमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्दै छ भने त्यस लगत्तै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो सो २०२५’ को तयारी गरिरहेको छ।
यी प्रदर्शनीहरूले अटो बजारलाई थप चलायमान बनाइरहेका बेला बैङ्कहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न आकर्षक योजनाहरू सार्वजनिक गरेका छन्। बैङ्कहरूसँग अहिले पर्याप्त तरलता भएकाले र आधार दर पनि न्यून बिन्दुमा झरेकाले सवारीसाधन कर्जा उनीहरूको प्राथमिकतामा परेको छ।
बैङ्कहरूले प्रकाशित गरेको मासिक ब्याजदरसम्बन्धी सूचनाअनुसार, सवारीसाधन कर्जामा बैङ्कहरूबिच कडा प्रतिस्पर्धा देखिएको छ। बैङ्कहरूले आफ्नो आधार दरमा ०.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने सूचना सार्वजनिक गरेका छन्। सबैभन्दा कम प्रिमियम दरमा नेपाल एसबीआई बैङ्कले आफ्नो आधार दरमा ०.२५ प्रतिशत मात्र थप गरी व्यक्तिगत सवारीसाधन कर्जा दिने घोषणा गरेको छ। यसै गरी, अधिकांश बैङ्कहरूले भने आधार दरमा ३ प्रतिशत हाराहारीमा प्रिमियम दरमा कर्जा दिने बताएका छन्।
बैङ्कहरूको आधारदर र प्रिमियम दर
- सिद्धार्थ बैङ्क: आधारदर ४.९०%, प्रिमियम २-३.५%
- सानिमा बैङ्क: आधारदर ६.०४२%, प्रिमियम १.५०-३.५०%
- राष्ट्रिय वाणिज्य बैङ्क: आधारदर ४.९७%, प्रिमियम १.७५-३%
- एनआईसी एशिया बैङ्क: आधारदर ६.२२%, प्रिमियम ०.५-४%
- नबिल बैङ्क: आधारदर ७.२३%, प्रिमियम ०.२५-३.५%
- ग्लोबल आइएमई बैङ्क: आधारदर ५.७६%, प्रिमियम २.५०-४%
- कृषि विकास बैङ्क: आधारदर ५.४८%, प्रिमियम ३.५०%
- एभरेष्ट बैङ्क: आधारदर ५.२७%, प्रिमियम १-३%
बैङ्कहरूको औसत आधार दर नै ६.१ प्रतिशतमा झरेको छ, जसले कर्जाको लागत सस्तो भएको छ। साउन महिनामा वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर बैङ्कको ४.९ प्रतिशत रहेको छ।
हायर पर्चेज शीर्षकमा १ खर्ब ३० अर्ब ९४ करोड रुपैयाँ लगानी
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूले हायर पर्चेज शीर्षकमा १ खर्ब ३० अर्ब ९४ करोड रुपैयाँ लगानी गरिसकेका छन्। अघिल्लो वर्षको तुलनामा यस शीर्षकको कर्जा ५.५ प्रतिशतले बढेको छ। यसमध्ये व्यक्तिगत प्रयोजनका लागि दिइने कर्जा १४.४ प्रतिशतले वृद्धि भएको छ


