राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्। उनले आफूले वहन गर्नुपर्ने भनिएको बिगो बराबरको बैंक जमानत दिन तयार रहेको भन्दै रिहाइको माग गरेका हुन्।
लामिछानेले गत साउन १९ गते रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्। यसअघि उनलाई सोही अदालतले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालतले उक्त आदेश बदर गरी पुर्पक्षका लागि थुनामा पठाएको थियो। हाल उनी भैरहवा कारागारमा छन् र अब उनको मुद्दाको छिनोफानो जिल्ला अदालतबाटै हुनेछ।
लामिछानेले आफ्नो निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार थुनामुक्त गर्न आग्रह गरेका छन्। संहिताको दफा ६८ मा अदालतले धरौट, जमानत वा बैंक जमानत लिएर तारिखमा राख्न सक्ने व्यवस्था छ भने दफा ७१ मा मुद्दाको कुनै पनि अवस्थामा जमानतमा राख्न सकिने प्रावधान रहेको छ। यस निवेदनमाथि अब जिल्ला अदालतले सुनुवाइ गर्नेछ।


