औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मर्मत गर्न साउन ३१ देखि पाइपलाइनबाट इन्धन आयात बन्द गरिने भएको छ । पाइपलाइन निरीक्षणमा आएका इन्डियन आयल कर्पोरेसन (आईओसी) को टोलीले इन्धनको प्रेसरले समस्या आएको बताएपछि पाइपलाइन मर्मत गरिने भएको हो ।
आईओसीका कार्यकारी निर्देशक मनोज शर्माको नेतृत्वमा निरीक्षणमा आएको टोलीले ‘लोडिङ बे’ र भल्भ खोलेरै मर्मत गर्नुपर्ने औंल्याएको छ । आईओसीका प्राविधिकले अगस्ट १४ र १५ बाट मर्मतको काम सुरु गर्नुपर्ने बताएका छन् । अगस्ट १६ (साउन ३१) देखि पाइपलाइन बन्द गरेर ‘लोडिङ बे’ र भल्भ मर्मत गर्ने जनाएका छन् ।
‘प्राविधिक समस्या देखिएपछि आईओसीको टोली निरीक्षणमा आएको हो । ढुवानीको काम नै रोकेर भए पनि अगस्ट १६ बाट मर्मत गर्ने छलफल भएको छ,’ अमलेखगन्जस्थित निगमका प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले भने, ‘मर्मतमा गएपछि ७/८ दिन पाइपलाइनबाट ढुवानी बन्द हुन्छ । तर बजारमा इन्धन अभाव हुन दिँदैनौं ।’
अमलेखगन्ज डिपोमा २५ हजार ५ सय किलोलिटर डिजेल र १७ हजार ५ सय किलोलिटर पेट्रोलसहित ४३ हजार किलोलिटर इन्धन भण्डारण गर्न सकिन्छ । औसतमा दिनको ३ हजारदेखि ३५ सय किलोलिटर बिक्री हुन्छ । ‘दिनको १७ देखि १८ सय किलोलिटर इन्धन बिक्री हुने गरेकामा अहिले घटेर ६/७ सय किलोलिटर मात्रै हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा पाइपलाइन बन्द भए पनि बजारमा इन्धनको समस्या हुँदैन ।’
स्थानीय बिक्रीका अतिरिक्त अमलेखगन्जबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर र जनकपुर डिपोमा इन्धन पठाइन्छ । यी सबै डिपोमा पर्याप्त भण्डारण गरेर मात्रै पाइपलाइन मर्मत गरिने निगमको भनाइ छ । इन्धन भण्डारण हुने ट्यांकीबाट लोडिङ बे/टीएलएफ सेड बनेको ठाउँमा समस्या देखिएको हो । ट्यांकरमा इन्धन लोड गर्ने क्रममा भाइब्रेट हुने, अलाइनमेन्ट परिवर्तनदेखि पाइप नै बांगिएको जस्तो देखिने गरेको निगमको भनाइ छ । लोडिङ बेको पाइप करिब १० सीएम अगाडि सरेको जनाएको छ । निगमका अनुसार दोस्रो चरणअन्तर्गत बनेको पूर्वाधारमा निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गरेको छ । निर्माणको काम भने आईओसीले गरेको थियो ।
अहिलेको समस्या दुई महिनाअघि पनि देखिएको थियो । पेट्रोल र डिजेल लोडिङका क्रममा समस्या देखिएपछि आईओसीका प्राविधिक आएर मर्मत गरेका थिए । पाइपलाइन ६ दिन बन्द गरिएको थियो । अहिले फेरि समस्या देखिएपछि बुधबार आईओसीको टोली निरीक्षण गर्न नेपाल आएको हो । आईओसीको टोलीले बुधबार अमलेखगन्जसम्म बन्ने पेट्रोलियम पाइपलाइन र भण्डारण गृहको पनि निरीक्षण गरेको थियो । बिहीबार भने अमलेखगन्जको पाइपलाइनमा देखिएको प्राविधिक समस्या पहिचान गरेको हो । आईओसीको टोली शुक्रबार भारत फर्किने कार्यक्रम रहेको निगमले जनाएको छ । त्यसपछि मर्मतका लागि प्राविधिक टोली आउनेछ ।


