Banijya News

अवलोकनकर्ता बढेपछि एक दिन थपियो नाइमा मोबिलिटी एक्स्पो

1
1.1K Shares

साउन २१ बाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को चौथो दिन शनिबार २१ हजार ५ सय जनाले अवलोकन गरेका छन् । एकै दिन आगन्तुकको यो उपस्थिति अति धेरै रहेको आयोजक नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ ।

दिनकै भीड बढीरहँदा आगन्तुक र एक्स्पोमा सहभागी विभिन्न सवारी कम्पनीको मागअनुसार प्रदर्शनीको समय एक दिन थप गरिएको हो । प्रदर्शनी आइतबारसम्मका लागि मात्र तय थियो । तर आगन्तुकको उपस्थिति सोचेभन्दा राम्रो भएको भन्दै सोमबारसम्म समय थप्ने निर्णय गरिएको आयोजक समितिका संयोजक शिरीष मुरारकाले जनाए ।

‘सबैले एक्स्पो एकदम राम्रो भयो, एक दिन समय थप्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘आगन्तुक र प्रदर्शककै मागअनुसार समय थपिएको हो ।’ प्रदर्शनीलाई व्यवस्थित गरिएका कारण स्टल घुम्न सजिलो भएको सहभागी बताउँछन् । शनिबार सर्वाजनिक बिदाको दिन भएका कारण आगन्तुकको उपस्थिति राम्रो भएको एक्स्पो समितिका सदस्य गौरव सारडाको भनाइ छ ।

पहिलो दिनको सहभागिता उत्साहजनक देखिएपछि आयोजकले राति ८ बजेसम्म एक्स्पो खुला रहने व्यवस्था गरेको छ । कार्यालय बन्द भएपछि पनि एक्स्पोमा आउने ग्राहकलाई लक्ष्य गरेर समय थप गरिएको आयोजकको भनाइ छ । जसअनुसार बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म कायम गरेको हो ।

‘एक्स्पो अहिलेसम्म एकदमै राम्रो भइरहेको छ, प्रतिक्रिया पनि राम्रो पाइरहेका छौं,’ सारडाले भने । एक्स्पोमा राखिएका दुई र चारपांग्रे सवारीसाधन धमाधम बुकिङ भइरहेको उनको भनाइ छ । चाडबाडको मुखमा आयोजना गरिएको एक्स्पोमा कम्पनीहरूबीच छुट दिन प्रतिस्पर्धा छ । एक्स्पोमा घोषणा गरिएको छुट अफर चाडबाड अवधिभर चल्ने कम्पनीहरूले जनाएका छन् ।

1

Scroll to Top