Banijya News

जीवन बीमा कम्पनीहरूले गरे ४० अर्ब १७ करोडको व्यापार

1
1.2K Shares

जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ व्यापार गरेका छन्। अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीहरुले ३१ अर्ब २२ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमकहरुको नयाँ व्यापार २८.६८ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सन नेपाल लाइफ अगाडि रहेको छ।

गत आर्थिक वर्षमा नेपाल लाइफले १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ४० करोड २२ लख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार ४१.७८ प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार २२.२० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष २ अर्ब २८ करोड ३८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा वर्षमा ३४.३८ प्रतिशतले बढेर ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा वर्षमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ, हिमालयन लाइफ २ अर्ब ८० करोड ३६ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १८ करोड ४३ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब १४ करोड २४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले १ अर्ब ९४ करोड ८४ लाख प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नयाँ व्यापार एलआईसी नेपालको २६.६४ प्रतिशत, हिमालयन लाइफको ८.९९ प्रतिशत, सिटिजन लाइफको १७.३८ प्रतिशत, एसियन लाइफको ३१.७५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ३.८० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा आइएमई लाइफले १ अर्ब ६८ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ४५ करोड १ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ११ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नयाँ व्यापार आइएमई लाइफको ३४.६७ प्रतिशत, रिलायबल नेपाल लाइफको २६.३३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४७.२३ प्रतिशत, मेट लाइफको ११.३० प्रतिशत, सन नेपाल लाइफको ६१.४० प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ४६.७० प्रतिशतले बढेको छ।

1

Scroll to Top