निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा उल्लेख गैरनाफामूलक र पूर्ण छात्रवृत्ति वाक्यांश हटाउन माग गरेका छन् । प्याब्सन, एन–प्याब्सन, नेसनल प्याब्सन र हिसानले आज काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गरी निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन माग गरेका हुन् ।
निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश तथा पूर्ण छात्रवृत्ति भन्ने शब्द विधेयकबाट हटाइनुपर्ने उनीहरुको भनाइ छ । प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले आफूहरुका माग सम्बोधन नगरे यही २९ गतेदेखि आन्दोलन गर्ने बताए । लगानीमैत्री शिक्षा नीति हुन नसक्ने कानून आउनु देशलाई विकास क्रमबाट पछि धकेल्नु र लगानीकर्तालाई हतोत्साहीत बनाउनु रहेको प्याब्सनको बुझाइ रहेको छ ।
के कस्ता छन् उनीहरूको मुख्य माग ?
विधेयकमा उल्लेख “निजी विद्यालयहरूलाई क्रमश: गैरनाफामूलक बनाइनेछ” भन्ने वाक्यांश हटाउनुपर्ने।
“पूर्ण छात्रवृत्ति” भन्ने शब्द प्रयोग नगरिनुपर्ने। वर्तमान अभ्यासअनुसार विद्यार्थीको १० प्रतिशतसम्म छात्रवृत्ति दिने व्यवस्था यथावत् राखिनुपर्ने।
छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क कायम रहनुपर्ने।
निजी क्षेत्रका विद्यालयहरू कानुनबमोजिम स्थापनाभई सञ्चालनमा आएका स्थायी संस्था भएकाले उनीहरूको अस्तित्व र स्थायित्वलाई सुनिश्चित गर्नुपर्ने।
संशोधनको मागको समयसीमा
संघसंस्थाहरूले सरकारलाई श्रावण २८ गतेभित्र मागहरू सम्बोधन गरी विधेयकमा आवश्यक संशोधन गर्न आग्रह गरेका छन्। अन्यथा साउन २९ गतेदेखि आन्दोलन सुरू गर्ने घोषणा गरिएको छ। विज्ञप्तिमा उल्लेख छ, “शिक्षा विधेयक निर्माणको अन्तिम चरणमा रहेका बेला कुनै पूर्वाग्रह नराखी सबै सरोकारवालाको भावना समेट्ने ढंगले विधेयक संशोधन गरिनुपर्छ, अन्यथा हामी कठोर कदम चाल्न बाध्य हुनेछौं।


