कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो आम्दानी र नाफामा उल्लेख्य सुधार गरेको छ। कम्पनीले यस अवधिमा ७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.६५ प्रतिशतले बढी हो।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो। आम्दानीमा भएको यो सुधारको प्रत्यक्ष प्रभाव खुद नाफामा देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४७.०८ प्रतिशतले बढेर २ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय विवरणअनुसार, यस अवधिमा अन्य आम्दानी १२ लाख ९५ हजार रुपैयाँ रहेको छ। यस्तै, कर्मचारी खर्च १ करोड ३३ लाख, ह्रासकट्टी खर्च १ करोड ४४ लाख, अन्य खर्च १ करोड ११ लाख र वित्त खर्च ९२ लाख ४४ हजार रहेको छ।
कम्पनीको रिजर्भ कोषमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। यससँगै, कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ४.७३ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६.९७ रुपैयाँ कायम भएको छ। कम्पनीको चालु अनुपात ३.९४ प्रतिशत रहेको छ, जसले कम्पनीको वित्तीय अवस्था बलियो रहेको देखाउँछ।


