Banijya News

अनलाइन जुवा खेल्दा महालक्ष्मीमा दुई करोड ८४ लाखको हिनामिना

1
1.2K Shares

महालक्ष्मी विकास बैंक लिमिटेडको गोकुलेश्वर शाखाबाट दुई करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ हिनामिना भएको अभियोगमा प्रहरीले चार जना पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । बैंकको पत्र जाहेरीसहित प्राप्त कागजात र बैंक विवरणको प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले साउन २४ गते उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–९ घर भई नगद विभागमा तत्कालीन समयमा कार्यरत २९ वर्षीया निर्मला साउँद छिन् । साउद बैंककै घराभेटीकि छोरी रहेको खुलासा भएको छ । अनुसन्धान गरिरहेकीसाउद सोही बैंक भाडामा बस्ने घरकी घरभेटीकी छोरी रहेको खुलासा भएको हो । निर्मला सन् २०१९ देखि सो बैंकमा काम गरिरहेकी छिन् । उनी बैंकको शाखामा नगद विभागमा कार्यरत थिइन् ।

त्यसैगरी, बैतडी पुर्चौडी नगरपालिका–३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त, डोटी स्थायी घर भई हाल कैलाली भजनी नगरपालिका –७ बसोबास गर्दै शाखा प्रबन्धकका रूपमा कार्यरत ३५ वर्षीय सागर शाही र दार्चुला लेकम गाउँपालिका–१ घर भई कर्जा विभागमा तत्कालीन कार्यरत ३१ वर्षीय धनञ्जय पन्त रहेका छन् ।

केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए । बैंकको आन्तरिक छानबिनले उनीहरूले अनलाइन जुवा (वान एक्स बेट) मा बैंकको पैसा लगाएको पत्ता लागेको थियो । बैंक स्रोतका अनुसार शुरुमा केही दिनको लागि जुवा खेल्न पैसा निकाल्ने र पछि कमाएर बैंकको पैसा तिर्ने योजना उनीहरुको थियो । यही योजना अनुसार मिलेर पैंसा बैंकबाट निकालेको देखिन्छ । निकालेको पैंसाबाट शुरुमा केही रकम कामाएको पनि देखिन्छ । तर, एकाएक पैसा डुबेपछि ति बैंकका स्टाफ मिलेर बैंकलाई डुवाउने खेलमा लागेको स्रोतको दाबी छ । स्रोत भन्छ, “शाखाका कर्मचारीहरूले सुरुमा केही हजार, त्यसपछि लाखौं र अन्ततः करोडौं रुपैयाँ अपचलन गरेको पाइएको छ । “

बेटमा लगाइएको रकममध्ये धेरै पैसा हारिसकेका कारण पनि अव कर्मचारीसँग पैसा बाँकी छैन । बैंकका ती कर्मचारीका अनुसार सिष्टममा पैसाको रेकर्ड छ, तर पैसा दुरुपयोग भएको छ ।

बैंकमा हाल के भैरहेको छ ?
घटना बाहिरिएपछि बैंकले गोकुलेश्वर शाखाका सबै कर्मचारीलाई निलम्बन गरेको छ । यद्यपि, बैंकले सुरुमा यो विषयलाई भित्रभित्रै मिलाउने प्रयास गरेको थियो र प्रहरीमा उजुरी दिन हिचकिचाएको थियो । बैंकको मुख्य उद्देश्य कर्मचारीबाट रकम असुल्नु रहेको देखिन्छ । यो केश वाहिरिएपछि केन्द्रले सो शाखाका सबै कर्मचारीहरु निलम्बन गरेको छ । बैंकको हेड अफिसबाट ४ जनाको टोली दार्चुला पुगेको छ । सुरुमा प्रहरीमा नजाने र बैंककै कर्मचारीबाट पैंसा असुल्ने प्रयास बैकको थियो । बैंकको आन्तरिक टोलीले त्यहाँको मुचुल्का उठाएर हेड अफिसमा रिपोर्टिङ गरिसकेको छ ।
शुक्रबार विहानदेखि कार्यालयको सीसीटिभी चेक गर्ने, भल्ट चेक गर्ने, कर्मचारीहरुलाई सोधपुछ गर्ने काम भएको थियो भने शनिबार प्रहरीले बैंकका कर्मचारीहरुलाई उठाएर प्रहरी भ्यानमा हाली जिल्ला प्रहरी कार्यालयसम्म ल्याएर सोधपुछ गरेको थियो ।

1

Scroll to Top