भारतीय टाटा मोटर्स लिमिटेडले इटालियन ट्रक निर्माता कम्पनी ईभेकोलाई खरिद गर्ने भएको छ । ईभेकोको प्रमुख सेयरधारक एग्नेली परिवारबाट चार अर्ब ५० करोड डलरमा किन्ने भएको हो ।
कम्पनीको स्वामित्व खरिद बिक्रीको औपचारिक घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ । सन् २००८ मा टाटा मोटर्सले जगुआर ल्यान्ड रोभरलाई दुई अर्ब ३० करोड डलरमा किनेको थियो । टाटा मोटर्स र इभेकोको बोर्डले बुधबार स्वामित्व खरिदबिक्रीको निर्णयलाई अनुमोदन गर्न बैठक गर्दैछन् ।
टाटा समूहको दोस्रो ठूलो अधिग्रहणका साथै अटोमोबाइल प्रमुखको लागि अहिलेसम्मकै ठूलो स्वामित्व खरिद बिक्री हुनेछ ।
ईभेकोले टाटासँगको स्वामित्व किनबेच वार्ता उन्नत चरणमा पुगेको खुलाएको छ । आफ्नो रक्षा व्यवसाय र कम्पनीको बाँकी भाग सम्बन्धी दुई छुट्टाछुट्टै लेनदेनको लागि विभिन्न पक्षहरूसँग निरन्तर वार्ता भइरहेको बताएको छ ।
टाटा मोटर्सले एग्नेली परिवारको लगानी कम्पनी एक्सोरबाट २७.१ प्रतिशत हिस्सा खरिद गर्नेछ र अन्य साना सेयरधारक समूहहरू किन्न टेन्डर अफर सुरु गर्नेछ । एक्सोरले ट्रक निर्माताको ४३.१ प्रतिशत मतदान अधिकार पनि नियन्त्रण गर्दछ ।
कम्पनीको सञ्चालक समितिले यी सम्भावित लेनदेनका सबै पक्षहरूको सावधानीपूर्वक समीक्षा र मूल्याँकन गर्ने प्रक्रिया रहेको जनाएको छ ।
इभेकोले आफ्नो रक्षा व्यवसायलाई अलग गर्दैछ तर पनि जुन टाटा मोटर्सको कारोबारको हिस्सा हुने छैन । टाटा समूह रक्षा व्यवसाय बाहेक ईभेकोको शतप्रतिशत सेयर खरिद गर्ने कुरामा विश्वस्त रहेको समाचारमा जनाइएको छ ।
इटालियन कम्पनीले गत मे महिनामा यो वर्षको अन्त्यसम्ममा आफ्नो रक्षा व्यवसायलाई बन्द गर्ने वा बेच्ने योजना बनाएर अगाडि बढ्ने घोषणा गरेको थियो । रक्षा व्यवसायका लागि सम्भावित खरिदकर्ताहरुबाट पहिले नै प्रस्तावहरू प्राप्त भइसकेका छन् ।
स्वामित्व खरिद बिक्रीको हल्ला चलेपछि मंगलबार ईभेकोको सेयर ७.४५ सम्म बढेको थियो । यसवर्ष स्टक दोब्बर भन्दा बढी भएको छ, जसले कम्पनीको मूल्य छ अर्ब १५ करोड डलर पुगेको छ ।


