नेपालमा विगत ३ वर्षदेखि पेट्रोलियम पदार्थको आयात लगातार घटिरहेको छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा हालसम्मकै उच्च ३ खर्ब ३४ अर्ब १० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा त्यसपछिका हरेक वर्षहरूमा यसको आयात निरन्तर घटीरहेको छ ।
गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थको आयात अघिल्लो आवको तुलनामा ४ दशमलव २९ प्रतिशतले घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा सीमित भयो । पेट्रोलियम पदार्थमा पेट्रोल, डिजेल, हवाई इन्धन, खाना पकाउने ग्यास र मट्टीतेल पर्छन् । यी ५ ओटै वस्तु आयातको कुल रकममा कमी आएको हो । यी वर्षहरूमा अन्तरराष्ट्रिय बजारमा तेलको भाउमा गिरावट आएका कारण पनि पेट्रोलियम पदार्थ आयातमा भएको खर्चमा गिरावट आएको देखिन्छ ।
विद्युतीय सामग्रीको बढ्दो खपत र विद्युतीय चारपांग्रे र दुईपांग्रे सवारीसाधनको बढ्दो उपयोगले पनि पेट्रोलियम पदार्थ आयात घटाउन सहयोग गरेको छ । नेपाल आयल निगमका अनुसार कुल आयातमा कमी आए पनि पेट्रोल र डिजेलको आयात केही बढेको छ । निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगले पनि तेल आयात घटाउन मद्दत गरेको बताए । नेपाल र भारतको सीमावर्ती बजारमा हुने मूल्य अन्तरका कारण पनि पेट्रोलियम पदार्थको आयात प्रभावित हुने उनको भनाइ छ ।
‘नेपालमा सस्तो हुँदा सीमावर्ती क्षेत्रका भारतीय आएर नेपालमा इन्धन भर्ने र नेपालमा यसको मूल्य बढ्दा नेपाली ग्राहक इन्धन भर्न उता पुग्ने गर्छन् । यसले अलिकति फरक पार्छ,’ उनले भने ।
अर्थशास्त्री शेरजंगबहादुर चन्द पनि पछिल्ला वर्षमा पेट्रोल/डिजेलबाट चल्ने गाडीको तुलनामा विद्युतीयको प्रयोग बढ्दा पेट्रोलियम पदार्थ आयात घटाउन योगदान पुगेको अनुमान गर्छन् । यो केही वर्षयताको प्रवृत्ति हो । सडकमा अभैm पेट्रोल/डिजेलबाट चल्ने सवारीसाधनको उच्च बाहुल्यता छ ।
अर्कोतर्फ, विगत केही वर्षयता देशको अर्थतन्त्र सुस्त गतिमा अघि बढेका कारण पनि बजारमा पेट्रोलियम पदार्थको माग घट्दा आयात प्रभावित भएको सरोकारवालाको भनाइ छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको आर्थिक वृद्धिदर आव २०७९/८० मा १ दशमलव ९८ प्रतिशत रह्यो भने आव २०८०/८१ मा वृद्धिदर केही बढेर ३ दशमलव ६७ प्रतिशत पुग्यो । गत आव २०८१/८२ मा आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ ।
हाल ठूला उद्योगले पनि पेट्रोलियम पदार्थको सट्टा विद्युत् नै खपत गर्ने भएकाले उनीहरूले खपत गर्ने पेट्रोलियम पदार्थको मात्रा घटेको चन्दको तर्क छ । ‘पेट्रोलियम पदार्थको आयात घट्नु सकारात्मक हो । आयातका लागि बाहिरिने रकमलाई मुलुकभित्रकै आर्थिक गतिविधि तथा विकास निर्माणमा लगानी गर्न सकिन्छ,’ उनले भने ।
विश्व बैंकको तथ्यांकअनुसार सन् २०२२ मा कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ९७ दशमलव १ अमेरिकी डलर रहेकोमा सन् २०२४ मा ८३ दशमलव ६ अमेरिकी डलरमा झरेको छ । सन् २०२२ मा रूस–युक्रेन युद्ध शुरू भएपछि तेलको मूल्यमा उच्च वृद्धि देखिएको थियो । रूस तेल र प्राकृतिक ग्यासको प्रमुख निर्यातक राष्ट्रमध्येको एक हो ।
सन् २०२५ को पहिलो त्रैमास (जनवरी–मार्च) मा प्रतिब्यारेल ७४ दशमलव २ डलर रहेको कच्चा तेलको मूल्य दोस्रो त्रैमास (अप्रिल–जुन) मा घटेर प्रतिब्यारेल ६५ दशमलव ९ डलर कायम भयो ।


