सोमवार सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक लाखभन्दा बढीले अवलोकन गरेको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन ९नाइमा० ले जानकारी दिएको छ ।
५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो ६ दिन चलेको थियो । एक्स्पो अवधिमा विभिन्न ब्रान्डका ३५ ओटा नयाँ मोडल सार्वजनिक गरिएको थियो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ९नाडा० बाट छुट्टिएर बनेको नाइमाले पहिलो मोबिलिटी एक्स्पो गरेको हो । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५००, तेस्रो दिन १९ हजार ५००, चौथो दिन २१ हजार ५००, पाँचौं दिन २२ हजार र छैटौं दिन ७ हजार ८०० दर्शकले एक्स्पो अवलोकन गरेका थिए ।
समापन समारोहमा नाइमाका अध्यक्ष रितुसिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको बताइन् । ‘पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समापन कार्यक्रममा उभिँदा म अत्यन्त उत्साहित छु ।
‘तपाईंहरूले यो एक्स्पोलाई साँच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो,’ उनले भनिन् । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमाले एक्स्पोका दौरान ५ दिनसम्म निरन्तर सिकाइका सत्र सञ्चालन गरी नाइमा यस क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको बताए । नेपाल र भारतका विज्ञहरूको सहभागितामा सञ्चालन गरिएका सत्रहरूमा निःशुल्क प्रवेश दिइएको थियो । सत्रहरु नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियो ।
आयोजकले एक्स्पोमा कति सवारीसाधन बुकिङ भयो त्यो खुलाउन चाहेन । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका एक प्रतिनिधिले एक्स्पोमा राखेका बीवाईडीका गाडीमध्ये एट्टो–१ धेरै बुकिङ भएको बताए । ‘बीबाईडीका गाडी बुकिङ भएकोमध्ये ४० प्रतिशत एट्टो–१ का लागि भयो,’ तिनले एक्स्पोको समापनपछि भने । ‘एक्स्पोमा हाम्रो ८०० भन्दा बढी गाडी बुकिङ भएका छन् ।’


