विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले डोल्पामा निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको ठेक्का सम्झौता भएको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड, चीनको जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड र एएनके कन्स्ट्रक्सन नेपालको जेभीबीच सोमबार सम्झौता भएको हो ।
जियाङ्सी तथा एएनकेले कबोल गरेको मूल्य अभिवृद्धि कर (भ्याट) सहित १३ अर्ब ७३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सम्झौतासँगै आगामी ५ वर्षभित्र जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रतिस्पर्धी सिनो हाइड्रो कर्पोरेसनले भ्याटसहित १५ अर्ब ७ करोड रुपैयाँ प्रस्ताव गरेको थियो ।
६ माघ ०८१ मा पुनः ठेक्का आह्वान गर्दा प्राविधिक प्रस्ताव मूल्यांकनबाट आवेदन दिएकामध्ये वित्तीय प्रस्ताव खोल्न जियाङ्सी र एएनके तथा सिनो हाइड्रोलाई छनोट गरिएको थियो । त्यसविरुद्ध अर्को आवेदक सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले ठेक्का प्रक्रिया रोक्न अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो । तर अदालतले अन्तरिम आदेश नदिएपछि ठेक्का प्रक्रिया अघि बढेको थियो ।
आयोजनाको ठेक्का प्रक्रिया झन्डै करिब १४ महिनामा टुंगिएको हो । ‘ठेक्का पाएको कम्पनीले ६ महिनाभित्र डिजाइन गरी स्वीकृति लिएर निर्माण अघि बढाउनुपर्छ,’ कम्पनीका सीईओ सञ्जय सापकोटाले भने । ३० असार ०८६ मा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ । आयोजना एक दिन ढिला निर्माण हुँदा पनि करिब १ करोड ३० लाख नोक्सानी हुने सापकोटाले बताए ।


