Banijya News

भृकुटीमण्डपमा नाडा अटो सो २०२५ को भव्य उद्घाटन, रोबोट र उडने गाडी मुख्य आकर्षण

1
1.4K Shares

राजधानीको भृकुटीमण्डपमा अटो व्यवसायीहरुको कुम्भ मेला नाडा अटो सो २०२५ को भव्य उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार १७औं संस्करणको नाडा अटो सो को उद्घाटन गरेका हुन् ।

८ गतेसम्म चल्ने शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिए।

यसपटकको शोमा अवलोकनकर्ताले दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताए।
भौतिक मन्त्रालयले सवारी आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको बताउँदै उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने अपेक्षा गरे।

त्यस्तै नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको बताउँदै उनले चाँडै पूर्वाधारको समस्या हल हुने बताए। शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पाट्र्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन्।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए ।

अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।

’नाडा यस्तो संस्था हो जसले ९० प्रतिशत अटोमोबाइल्स सेक्टरको प्रतिनिधित्व गर्छ,’ अध्यक्ष चौधरीले भने, ’हामी सीप र रोजगार दुवै सिर्जना गर्छौँ ।’ अध्यक्ष चौधरीले सरकारले ल्याएको बजेट पछिल्लो १० वर्षमा नदेखेको बजेट भएको भन्दै अर्थमन्त्रीको प्रशंसा गरे ।

उनले आउँदो मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रका लागि थप सकारात्मक व्यवस्थाहरू आउनेमा आशावादी रहेको बताए । साथै, सरकारले ल्याउन लागेको नयाँ यातायात मापदण्डले पनि व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

नेपालमा सवारीसाधन एसेम्बल गर्नु जरुरी भए तापनि पार्टपुर्जा नेपालमै उत्पादन हुनु अझ महत्त्वपूर्ण हुनेमा उनले जोड दिए । ’पार्टपुर्जा नेपालमै उत्पादन भयो भने त्योभन्दा ठुलो केही हुने छैन,’ उनले भने ।

यस पटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार पनि प्रदर्शनीमा राखिएको छ, जसले अवलोकनकर्तामाझ नयाँ आकर्षण थपेको छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

1

Scroll to Top