सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले नेपालमा सवारी साधनको आयात र सञ्चालनलाई नियमन गर्छ। तर, आधुनिक प्रविधिको विकाससँगै विश्व बजारमा आएका नयाँ सवारी साधनहरूलाई नियमन गर्ने कानुनको अभाव खट्किएको छ। यस्तै एक घटना हालै राजधानीमा आयोजित नाडा अटो शो २०२५ मा देखियो, जहाँ नेपालको कानुनले चिन्दैन भनिएको ‘उड्ने सवारी’ प्रदर्शनमा राखिएको थियो।
प्रधानमन्त्रीद्वारा प्रदर्शनी अवलोकन, कानूनी पक्षमा मौनता
मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानुनमा कतै पनि उल्लेख नभएको दिपलको ईभीटोल (उड्ने सवारी) सहितका अत्याधुनिक सवारी साधनहरू अवलोकन गरे। उनले प्रदर्शनीको खुलेर प्रशंसा गरे पनि यस्ता सवारी साधनहरू आयात र सञ्चालनका लागि आवश्यक कानुनी आधारबारे भने कुनै चासो देखाएनन्।
प्रधानमन्त्रीले अटो शोमा सम्बोधन गर्दै नेपाल सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढेको र व्यवसायीहरूले ढुक्क भएर लगानी गर्न सक्ने बताए। उनले देशमा नयाँ सडक, अन्तर्राष्ट्रिय विमानस्थलहरू, र हरित ऊर्जाका परियोजनाहरू अगाडि बढेको जिकिर गरे। उनले नयाँ प्रविधि र आविष्कारहरूलाई नेपालमा सहज रूपमा भित्र्याउन सरकारले सहयोग गर्ने विश्वास पनि दिलाए। तर, उनले यस्ता प्रविधिहरूलाई कानुनी रूपमा सहज बनाउन विद्यमान कानुनमा गरिनुपर्ने समयसापेक्ष परिमार्जनको विषयलाई भने बेवास्ता गरे।
कानुन र प्रविधिको अन्तर
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी साधनको वर्गीकरण र त्यसको आयात तथा सञ्चालनसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ। तर, यस ऐनमा ‘उड्ने सवारी’ जस्ता आधुनिक प्रविधिहरूको बारेमा कुनै उल्लेख छैन। यस्तो अवस्थामा प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै कानुनको परिधिभन्दा बाहिरको सवारी साधन प्रदर्शनमा राख्दा कानूनी राज्यको अवधारणामाथि प्रश्न उठेको छ।
विशेषज्ञहरूका अनुसार, सरकारले नयाँ प्रविधिहरूको स्वागत गर्ने हो भने त्यसको लागि आवश्यक कानुन निर्माण र संशोधनमा पनि ध्यान दिनु जरुरी छ। अन्यथा, यस्ता प्रविधिहरू भित्रिए पनि कानूनी जटिलताका कारण तिनको सञ्चालन र प्रयोगमा समस्या आउन सक्छ।
भाद्र ८ गतेसम्म चल्ने नाडा अटो शो २०२५ मा विभिन्न १९ वटा चार पाङ्ग्रे, ४ वटा दुई पाङ्ग्रे, र १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएका छन्। यसबाहेक, अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, र ग्यारेज उपकरणका १२५ भन्दा बढी प्रदर्शनी कक्षहरू पनि रहेको आयोजकले जनाएका छन्।


