नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट बजारमा ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एमटी–१५ भी २ का ‘आइस स्ट्रोम’ र ‘भीभीएम’ संस्करण तथा एफजेड एस भी ३ डीएलएक्सको ‘आइस फ्लो भर्मिलेख’ भेरियन्ट सार्वजनिक गरेको हो।
स्ट्रीटफाइटर सेग्मेन्टमा चर्चित एमटी–१५ को नयाँ भेरियन्टले नेपाली राइडरलाई थप विकल्प दिने अपेक्षा गरिएको छ। त्यस्तै, एफजेड एस भी ३ डीएलएक्समा आएको नयाँ रंगले यसको स्टाइल र स्पोर्टीपनलाई झन् निखारेको कम्पनीले दाबी गरेको छ।
एमएडब्लू राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार यी मोडलहरूले यामाहाको अन्तर्राष्ट्रिय डिजाइन पहिचानलाई झल्काउँछन् र नेपाली राइडरलाई नयाँ ट्रेन्डमा लैजानेछन्। यसले बजारमा यामाहाको ब्रान्ड इमेजलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
अटो शोको अवसरमा कम्पनीले आकर्षक अफरहरू पनि ल्याएको छ। ग्राहकले ७ हजार रुपैयाँसम्म नगद छुट, मोटोजीपी रेस हेर्ने अवसर, साथै एमटी सिरिज बुकिङ गर्नेहरूका लागि प्रिमियम राइडिङ ज्याकेट पाउनेछन्।
भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शोमा यामाहाको स्टल ब्लू च्याम्बर – टीडब्लू १ मा राखिएको छ, जहाँ यी नयाँ मोडलहरू नजिकबाट अवलोकन गर्न सकिनेछ।
यी नयाँ भेरियन्टहरूको प्रवेशसँगै यामाहाले नेपाली बाइक बजारमा नयाँ ऊर्जा थपेको छ। स्टाइल, पर्फर्मेन्स र अफरको संयोजनले यसले प्रतिस्पर्धी बजारमा उपभोक्ताको ध्यान खिच्ने निश्चित देखिन्छ।


