नेपालले भारत र चीनबीचको सीमा व्यापारका लागि प्रयोग हुने लिपुलेक हुँदै व्यापार नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेको हो। विज्ञप्तिमा नेपालको आधिकारिक नक्साअनुसार यी क्षेत्रहरू महाकाली नदीको पूर्वमा पर्ने उल्लेख छ।
नेपाल सरकारले भारतलाई विगतदेखि नै उक्त विवादित क्षेत्रमा सडक निर्माण, विस्तार वा सीमा व्यापारजस्ता कुनै पनि गतिविधि नगर्न अनुरोध गर्दै आएको जानकारी गराएको छ। मन्त्रालयले यस विषयमा मित्रराष्ट्र चीनलाई पनि जानकारी दिइसकेको उल्लेख गरेको छ। नेपालले भारतसँगको सीमा विवाद ऐतिहासिक सन्धि, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।
नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै नेपाल सरकारले ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा दुवै देशबीच विद्यमान सीमा विवादलाई कूटनीतिक माध्यममार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैबीच, भारतले भने लिपुलेकमाथि नेपालको क्षेत्रीय दाबीलाई अस्वीकार गरेको छ। भारतको विदेश मन्त्रालयले नेपालको दाबी ’अनुचित ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको’ जिकिर गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा भारत र चीनबीच लिपुलेक पास हुँदै व्यापार सन् १९५४ देखि नै चलिरहेको र कोभिडका कारण रोकिएको व्यापार अहिले दुई देशबीचको सहमतिमा पुनः सुरु गरिएको जानकारी दिएका छन्। भारतले नेपालसँग बाँकी सीमा समस्याहरू भने वार्ता र कूटनीतिबाट समाधान गर्न खुला रहेको बताएको छ।
बाँकी सीमा समस्या समाधानका लागि भने रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । ’हामीले लिपुलेक पासमार्फत भारत र चीनबीचको सीमा व्यापार पुनः शुरू गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले गरेको टिप्पणीलाई नोट गरेका छौं,’ विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’भारत र चीनबीच लिपुलेक पासमार्फतको सीमा व्यापार सन् १९५४ मा शुरू भएको थियो । यो दशकौँदेखि चलिरहेको छ । कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएको थियो । अब दुवै पक्षले यसलाई पुनः शुरू गर्न सहमत भएका छन् । क्षेत्रीय दाबीहरू नाजायज ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् । भारत नेपालसँग सहमति भएका बाँकी सीमा समस्याहरू संवाद र कूटनीतिमार्फत समाधान गर्न रचनात्मक अन्तरक्रियाका लागि खुला छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नयाँ दिल्ली भ्रमणका क्रममा मंगलबार दुई देशबीच लिपुलेक पासमार्फत सीमा व्यापार पुनः खोल्ने सहमति भएको थियो ।


