Banijya News

बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो

1
1.4K Shares

बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गर्ने बीमा शुल्क १४ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार २८ वटा बीमा कम्पनीहरूले गत आवमा कुल दुई खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

यो रकम अघिल्लो आवको तुलनामा १४ दशमलव ७६ प्रतिशत अर्थात् २९ अर्ब २१ करोड ८५ लाख ७७ हजार रुपैयाँले बढी हो। अघिल्लो आवमा १४ निर्जीवन र १४ जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा एक खर्ब ९७ अर्ब ९६ करोड ७३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेका थिए।

गत आवमा जीवन बीमा कम्पनीहरूले मात्र एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख ४८ हजार रुपैयाँ संकलन गरेका छन्। यो अघिल्लो आवको तुलनामा १६ दशमलव ४७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क पनि बढेको छ। प्राधिकरणका अनुसार उनीहरूले गत आवमा ४४ अर्ब ९१ करोड २६ लाख ७ हजार रुपैयाँ आर्जन गरेका छन्, जुन अघिल्लो आवको तुलनामा आठ दशमलव ३१ प्रतिशत बढी हो। अघिल्लो आवमा निर्जीवन बीमकहरूले ४१ अर्ब ४६ करोड ६१ लाख ३० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

बीमालेखको संख्यामा पनि वृद्धि भएको छ। गत आवको असार मसान्तसम्म जीवन बीमा कम्पनीमा सक्रिय बीमालेखको संख्या एक करोड ५६ लाख ३० हजार ९९९ पुगेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १२ दशमलव ६० प्रतिशत बढी हो। अघिल्लो आवमा जीवन बीमा कम्पनीमा सक्रिय बीमालेख एक करोड ३८ लाख ८१ हजार ४९२ थियो।

त्यस्तै, निर्जीवन बीमा कम्पनीमा सक्रिय बीमालेख ३२ लाख ४४ हजार ३८३ पुगेको छ। यो अघिल्लो आवको तुलनामा ११ दशमलव ८१ प्रतिशत वृद्धि हो। अघिल्लो आवमा निर्जीवन बीमालेखको संख्या २९ लाख एक हजार ६४० रहेको थियो।

बीमाको दायरामा आउने जनसंख्या प्रतिशत पनि बढेको छ। प्राधिकरणका अनुसार गत आवको असार मसान्तसम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित कुल जनसंख्या कवरेज ४८ दशमलव ३३ प्रतिशत पुगेको छ। यो अघिल्लो आवको तुलनामा पाँच दशमलव शून्य छ प्रतिशतले बढी हो। अघिल्लो आवमा बीमाको दायरामा ४३ दशमलव २७ प्रतिशत जनसंख्या मात्र रहेको थियो।

1

Scroll to Top