गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रियस्तरका विकास बैंकहरूले सेयर धितो कर्जा प्रवाहमा उल्लेखनीय वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूले सो अवधिमा कूल १८ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर लोन प्रवाह गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यिनीहरूले १४ अर्ब ८९ करोड ६ लाख रुपैयाँ कर्जा दिएकोमा, यो वर्ष कर्जा प्रवाह २४.३२ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा तीमध्ये ७ वटा बैंकको सेयर लोन प्रवाह बढेको छ भने १ वटाको घटेको छ। कर्जा प्रवाहका आधारमा मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा पुगेको छ भने वृद्धिदरका हिसाबले गरिमा विकास बैंक अग्रस्थानमा देखिएको छ।
यो अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ३ अर्ब ७२ करोड २३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष सो बैंकले २ अर्ब ८० करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो, जसअनुसार कर्जा प्रवाह ३२.६८ प्रतिशतले वृद्धि भएको हो।
दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले सो अवधिमा ३ अर्ब ५ करोड १४ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको १ अर्ब ७७ करोड ८ लाख रुपैयाँको तुलनामा ७२.३१ प्रतिशतले बढी हो। महालक्ष्मी विकास बैंकले २ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ सेयर लोन दिएको छ। जुन अघिल्लो वर्षको २ अर्ब २५ करोड १८ लाख रुपैयाँको तुलनामा ४.१० प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, शाइन रेसुंगा विकास बैंकले २ अर्ब ३३ करोड १२ लाख, लुम्बिनीले १ अर्ब ९३ करोड ११ लाख, कामना सेवाले १ अर्ब ८४ करोड २ लाख, ज्योतिले १ अर्ब ७७ करोड १९ लाख, र साङ्रिला विकास बैंकले १ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सबै बैंकहरूको सेयर लोन प्रवाहमा वृद्धि देखिएको छ, भने ज्योति विकास बैंकको कर्जा लगानी भने घटेको छ।


