लिपुलेक विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ । नेपाली भूमि लिपुलेकलाई लिएर भारत र चीनबीच भएको सहमतिपछि प्रधानमन्त्रीको भ्रमण रोकिने हो कि भन्ने आशंका बढेको थियो । तर, परराष्ट्र मन्त्रालयले भ्रमणलाई उच्च प्राथमिकतामा राखी तयारी गरिरहेको छ ।
“प्रधानमन्त्रीज्यूको चीन र भारत भ्रमण स्थगित हुँदैन । तयारी तीव्रस्तरमा भइरहेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “विवाद उठ्छ र आफ्ना धारणा राख्ने काम पनि हुन्छ । तर, यसैमा अल्झिएर सम्बन्धमा नै गतिरोध आउन दिनुहुँदैन ।”
भ्रमणको बेला उच्चस्तरमा विवादित विषयमा छलफल गरेर सम्बन्धलाई सुमधुर बनाउने र समस्याको समाधानको खोजी गर्नुपर्ने धारणा परराष्ट्र स्रोतको छ ।
“जुन मुद्दालाई लिएर अहिले विवाद भइरहेको छ । ती मुद्दा उच्चस्तरीय भेटमा उठाउने र छलफल गर्ने गरी भ्रमणको तयारी छ । आपसी छलफलबाट नै समस्याको समाधान निस्कन्छ र निकालिनुपर्छ भन्ने नेपाल र भारतले निकालेको विज्ञप्तिमा पनि उल्लेख छ,” परराष्ट्र स्रोतले भन्यो ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन जाने तयारीमा छन् । सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिनमा हुँदै छ ।


