गत आर्थिक वर्ष २०८१/८२ को उखु अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतका संगठनहरूको अगुवाइमा किसानहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारसँग प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् । किसानहरूले आफूले उत्पादन गरेको उखुको मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या भएको गुनासो गरेका छन् । उनीहरूले ‘उखु अनुदान भुक्तानी गर’, ‘उखु कृषक शोषण बन्द गर’, ‘मूल्य निर्धारणमा कृषकलाई सहभागी गर’ जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु अनुदानका लागि आवश्यक रकम विनियोजन नगरिएकोमा किसानहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सरकारले गत वर्षको अनुदान रकमसमेत आधा कटौती गर्न लागेको आशंका गरेका छन् । यदि सरकारले तोकिएको अनुदान रकम भुक्तानी नगरे उखु खेती गर्न नसक्ने उनीहरूको भनाइ छ । किसानहरूले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।


