अमेरिकाभित्रै ट्रम्पको भारत नीतिविरुद्ध विरोध: ट्रम्पको पछिल्लो निर्णयले अमेरिकाभित्रै विरोध र चिन्ता बढाएको छ। अमेरिकाका पूर्व र वर्तमान नेताहरूले पनि ट्रम्पको निर्णयको आलोचना गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव देखिएको छ। ट्रम्पको यो कदमसँगै अमेरिकाभित्र पनि उनको भारत नीतिविरुद्ध विरोध र चिन्ता बढिरहेको बीबीसीले जनाएको छ।
पूर्व अमेरिकी विदेशमन्त्री जोन केरीले ट्रम्पको नयाँ कर नीतिले अमेरिकाका मित्र राष्ट्रहरूलाई टाढा धकेल्ने आरोप लगाएका छन्। उनले भारतसँगको सम्बन्धमा आएको तनावलाई दुर्भाग्यपूर्ण भन्दै विगत २५ वर्षको कूटनीतिक प्रयासलाई यसले चुनौती दिएको बताएका छन्।
त्यसैगरी, रिपब्लिकन नेतृ निक्की हेलीले पनि अमेरिकाले चीनसँगको सन्तुलन कायम राख्ने क्रममा भारतजस्ता मित्र राष्ट्रसँगको सम्बन्ध बिगार्नु अनुचित भएको तर्क गरेकी छिन्। व्यापार र ऊर्जासम्बन्धी विवाद भए तापनि चीनविरुद्धको साझा रणनीति कायम राख्न आवश्यक रहेको उनको भनाइ छ।
यता, अमेरिकी सञ्चार माध्यमले पनि ट्रम्पको कदमको आलोचना गर्दै भारतले आफ्नो कूटनीतिक रणनीतिमा पुनर्विचार गर्नुपर्ने विश्लेषण गरेका छन्। अगस्ट ७ मा पहिलो चरणमा २५ प्रतिशत र अगस्ट २७ मा दोस्रो चरणमा २५ प्रतिशत गरी कुल ५० प्रतिशत भन्सार कर लगाउने ट्रम्पको घोषणा छ। यो कर खासगरी भारतले रूसबाट आयात गर्ने तेलमा लक्षित रहेको बताइएको छ।


