नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बिहान सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको छ । बैठकमा मुख्यगरी दुईवटा विषयमा छलफल भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन र उपसभामुख इन्दिरा रानामगरमाथि उठेका प्रश्न उठेका छन् ।
समिति सभापतिबारे विवाद
गत साउन २८ गते संघीय निजामती सेवा विधेयकमा ’कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थाको विवादमा परेपछि कांग्रेस सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावली अनुसार, पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ, जसले गर्दा कांग्रेसमाथि दबाब बढेको छ । सभामुख देवराज घिमिरेले पनि नयाँ सभापति चयनका लागि राजनीतिक दलहरूसँग छलफल गरे पनि कुनै निष्कर्ष निस्केको थिएन । अब कांग्रेसले आफ्नो पार्टीबाट नयाँ उम्मेदवार तय गर्ने तयारी गरेको छ । तयारी अनुसार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेता दिलेन्द्र प्रसाद बडूको नाम सभापति शेरबहादुर देउवालाई सिफारिस गरेका छन् । उनले बडूलाई फकाउन सभापति देउवालाई आग्रह गरेका छन् । तर बडू भने आफू आकांक्षी नभएको तर जिम्मेवारी दिएमा तयार रहेको बताउँछन् ।
उपसभामुखमाथि छलफल
बैठकमा उपसभामुख इन्दिरा रानामगरको पदीय आचरणबारे पनि छलफल भएको छ। यसअघि कांग्रेस र नेकपा एमालेका केही सांसदहरूले रानामगरविरुद्ध हस्ताक्षर संकलन गरेका थिए। तर, कांग्रेसभित्रै यस विषयमा मतभेद देखिएकाले पार्टीले सामूहिक निर्णय गर्न सकेको थिएन। यो बैठकमा उपसभामुखको विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने अपेक्षा गरिएको छ ।


