लामो समयदेखि अपेक्षित अन्तर्राष्ट्रिय उडान विस्तारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब गति लिने देखिएको छ। चीनको सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलियाका लागि नियमित उडान सुरु गर्ने तयारी गरेको छ, जसले पोखराको हवाई कनेक्टिभिटीमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ।
पोखरा-अष्ट्रेलिया सिधा उडानको सम्भावना
सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलियाका लागि उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) सँग अनुमति मागेको छ। CAAN का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, यस विषयमा अनौपचारिक छलफल भइसकेको छ र आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिने तयारी भइरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनाबाट उडान सुरु गर्ने योजना बनाएको छ। यो उडान सञ्चालन भएमा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र अन्य यात्रुहरूलाई सहज हुने विश्वास गरिएको छ। “सिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ। औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भने।
यसअघि, सिचुवान एयरलाइन्सले गत वर्षको असारमा चार्टर उडान सञ्चालन गरेको थियो। कम्पनीले यसलाई नियमित उडानको रूपमा विस्तार गर्न चाहेको हो।
भुटान एयरलाइन्सले पनि चार्टर उडानको तयारी
सिचुवान एयरलाइन्स मात्र होइन, भुटानको निजी वायुसेवा कम्पनी भुटान एयरलाइन्स (टासी) ले पनि पोखराबाट चार्टर उडान गर्ने तयारी गरेको छ। प्राधिकरणका अनुसार, भुटान एयरलाइन्सले सेप्टेम्बर २८ र अक्टोबरमा पारोका लागि दुई–तीनवटा चार्टर उडानको अनुमति मागेको छ।
यदि यी चार्टर उडानहरू सफल र दिगो भएमा, भुटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ अन्तर्गत पारो-पोखरा-दिल्ली र दिल्ली-पोखरा-पारो उडान सञ्चालन गर्ने योजना बनाएको छ। यसले पोखरालाई क्षेत्रीय हबको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। भुटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
हाल हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो ।
विमानस्थललाई चलायमान बनाउन सरकारको छुट
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सरकारले विभिन्न सहुलियत दिएको छ। यी दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूलाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिइएको छ। साथै, नेपाल एयरलाइन्सले उपलब्ध गराउने ग्राउन्ड ह्यान्डलिङ सेवामा पनि ७५ प्रतिशत छुट दिइएको छ। हवाई टिकटमा लाग्ने प्रति-यात्रु ३,००० रुपैयाँको सेवा शुल्कमा समेत पूर्ण छुट छ।
हाल पोखरामा हिमालय एयरलाइन्सले मात्र सातामा एक दिन नियमित उडान गरिरहेको छ। नयाँ उडानहरू सुरु भएपछि यस विमानस्थलमा चहलपहल बढ्ने र यात्रुहरूका लागि थप विकल्प उपलब्ध हुनेछ।
भैरहवामा पनि उडानको आशा
पोखरासँगै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा पनि चहलपहल बढ्ने संकेत देखिएको छ। विगतमा उडान स्थगित गरेका जजिरा एयरवेज र थाई एयर एसियाले आगामी ‘विन्टर सिजन’ मा पुनः उडान सुरु गर्ने तयारी गरिरहेका छन्। हाल नेपाल एयरलाइन्सको उडान स्थगित भए पनि यी नयाँ उडानले भैरहवाको हवाई सेवालाई पुनर्जीवन दिने अपेक्षा गरिएको छ।
तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । यो विमानस्थलमा अन्तरराष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ ।


