Banijya News

बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियाका लागि सिफारिस समिति गठन

1
1.4K Shares

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया थालेको छ । यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन् ।

प्राधिकरण अध्यक्ष नियुक्तिको क्रममा अनुभवको फर्जी कागजात बुझाएको आरोपमा भदौ २ गते सरकारले शरद ओझालाई बर्खास्त गरेको थियो । त्यसअघि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति बनाएर ओझामाथि छानबिन गरेको थियो ।

प्राधिकरण अध्यक्षका लागि ओझा अयोग्य रहेको निष्कर्षसहित समितिले सरकारलाई प्रतिवेदन बुझाएको थियो । समितिले ओझाको कार्यक्षमता, पदीय जिम्मेवारी, आचरण र योग्यता अनुभवमा केन्द्रित भएर समितिले ओझामाथि छानबिन गरेको थियो । सो क्रममा अनुभवजस्ता विषयहरूमा कैफियत भेटेको थियो ।

सम्बन्धित क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा रहेर काम गरेको पाँच वर्षको अनुभव हुनुपर्नेमा ओझासँग संवाददाताको रुपमा सञ्चार क्षेत्रमा काम गरेको मात्र अनुभव भएकाले समितिले उनी सो पदमा अयोग्य हुने निष्कर्ष निकालेको थियो । संयोजक गिरीका साथै समितिमा नेपाल सरकारका पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्वसदस्य कपिलदेव ओली सदस्य थिए ।

गत वर्ष फागुन १२ मा उनी अध्यक्ष नियुक्त भएका थिए । बीमा ऐनको दफा १२ अनुसार छानबिन समितिको सिफारिसमा सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ । ओझालाई निलम्बन गरेको सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।

1

Scroll to Top