Banijya News

सेयर बजारमा म्युचुअल फन्डको लगानी ५३ अर्ब १२ करोड रुपैयाँ पुग्यो

1
1.2K Shares

सेयर बजारमा म्युचुअल फन्डहरुको लगानी ५३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । साउन मसान्तसम्म म्युचुअल फन्डको कुल सम्पत्ति मूल्य ६९ अर्ब ८५ करोड रुपैयाँ बराबर छ । सोमध्ये सेयर बजारमा ५३ अर्ब १२ करोड रुपैयाँ लगानी छ भने ५ अर्ब १८ करोड मुद्दती निक्षेपमा र ११ अर्ब ५५ करोड रुपैयाँ नगदमा छन् । बाँकी अन्य उपकरणमा लगानी गरेका छन् ।

एक वर्षमा म्युचुअल फन्डको कुल आकार करिब ९ अर्ब रुपैयाँ बढेको छ । गत वर्षको साउन मसान्तसम्म यी फन्डको कुल सम्पत्ति मूल्य ६१ अर्ब रुपैयाँ थियो ।

म्युचुअल फन्डले गरेको सेयर लगानी अधिकांश वाणिज्य बैंक समूहमा छ । कुल सेयर लगानीमध्ये साउन मसान्तसम्म ३३.१४ प्रतिशत वाणिज्य बैंकमा, १२.३३ प्रतिशत विकास बैंकमा, १२.६१ प्रतिशत जलविद्युत् कम्पनीमा लगानी छ ।

त्यस्तै ११.६० प्रतिशत जीवन बीमामा, ११.३२ प्रतिशत निर्जीवन बीमामा तथा माइक्रोफाइनान्समा ८.७५ प्रतिशत लगानी गरेका छन् । बाँकी १०.२५ प्रतिशत लगानी, व्यापार, अन्य, म्युचुअल फन्डकै इकाइ , उत्पादन तथा प्रशोधन, होटल, फाइनान्स समूहमा छ ।

म्युचुअल फन्ड ठूला संस्थागत लगानीकर्ता हुन् । कम्पनीका बारेमा धेरै विश्लेषण, अध्ययन गरेर मात्रै म्युचुअल फन्डले खरिद तथा बिक्रीका लागि सेयर छनोट गर्छन् ।

म्युचुअल फन्डको रकम सेयरमा लगानी गर्नका लागि प्राविधिक विश्लेषकसहितको रिसर्च टिम राखिएको हुन्छ । प्राविधिक विश्लेषणसहित कम्पनीको वित्तीय स्थिति राम्ररी अध्ययन गरेर टिमले लगानीका लागि सिफारिस गर्छन् । सिफारिस भएका कम्पनीबाटै लगानीको निर्णय हुने गरेको मुक्तिनाथ क्यापिटलका सीईओ कविन्द्र ध्वज जोशीले बताए ।

‘मूल्य बढ्ने कम्पनी (क्यापिटल गेन) मात्रै नहेरी राम्रो लाभांश दिन सक्ने (डिभिडेन्ट क्यापासिटी) कम्पनी छनोटमा पर्दछन्, लाभांश दिने कम्पनी केही वर्ष नै होल्ड हुन सक्छन्’ उनले भने ।

विश्लेषणका क्रममा प्राविधिकभन्दा पनि आधारभुत विषयलाई प्राथमिकता दिइने गरेको उनले बताए । केही कम्पनीका सेयर भने म्युचुअल फन्डले पनि कारोबारकै लागि किन्ने गर्छन् । ‘छोटो अवधिको कारोबारका लागि छुट्याइने फन्ड तुलनात्मक रुपमा कम नै हुन्छ’ उनले भने ।

अध्ययन र अनुसन्धान गरेर नै म्युचुअल फन्डले सेयर छनोट गर्ने भएकाले आजकाल धेरै व्यक्तिले पछ्याउने गर्दछन् । म्युचुअल फन्डले हरेक महिना सार्वजनिक गर्ने अपरिस्कृत वित्तीय विवरणमा कुन कुन कम्पनीका सेयरमा कति लगानी भएको छ भन्ने स्पष्ट पारेका हुन्छन् ।

उनीहरुले लगानीका लागि छनोट गरेका कम्पनी हेरेर व्यक्तिले पनि लगानीको निर्णय गर्ने गर्छन् । म्युचुअल फन्डका आफ्नै रणनीति हुने भएकाले व्यक्तिले पछ्याउँदा धेरै विषयमा ध्यान दिनुपर्ने जोशी बताउँछन्।

‘हामीले घटेका बेला थप सेयर किनेर मूल्यमा एभरेजिङ गर्छौं, तर व्यक्तिले घट्दै जाँदा एभरेजिङ गरिरहन नसक्ने अवस्था हुन सक्छ, वा डराएर नोक्सानीमै बेच्न सक्छन्’ उनले भने ‘त्यसैले म्युचुअल फन्डको छनोट भन्दैमा व्यक्तिका लागि उपयुक्त नहुन पनि सक्छ ।’

1

Scroll to Top