प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ ।
उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाएको छ ।


