Banijya News

पाइपलाइनमै अल्झिए ७६ कम्पनीका आइपिओ, कहिले पाउँछन् अनुमति ?

1
1.2K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि ७६ कम्पनीले अनुमति मागेका छन्। तर स्वीकृति नपाएका कारण ती कम्पनीका प्रस्ताव हाल पाइपलाइनमै अल्झिएका छन्।

सेबोनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक, जलविद्युत, होटल–पर्यटन, उत्पादन–प्रशोधन, लगानी कम्पनीदेखि लघुवित्तसम्मका विभिन्न क्षेत्रका कम्पनीले आईपीओ ल्याउन आवेदन दिएका छन्। ती कम्पनीले माग गरेको सेयर संख्या करोडौँ कित्तामा पुगेको छ।

७६ कम्पनीमध्ये सर्वाधिक ३७ वटा जलविद्युत कम्पनी छन्। यी कम्पनीले १८ अर्ब २६ करोड रुपैयाँ बराबरको १७ करोड ८५ लाखभन्दा बढी कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका छन्। भुजुङ, यम्बालिङ, सोलु, टक्सार पिखुवाखोला, रिज्गे लाइन, कालिन्चोक, हिम रिभर, लोअर इर्खुवा, कलङ्गा, सानिगाड, एपेक्स माकालु, अपोलो, गौरीशंकर, सिउरी न्यादी, सुपर खुदी, माउन्ट एभरेष्ट पावर, आरती पावर, मेवा डेभलपर्स, भिजन इनर्जी र ह्वाइट लोटसलगायतका कम्पनी पाइपलाइनमा छन्।

होटल–पर्यटन क्षेत्रमा ४ कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको १ करोड ४२ लाख कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्। होटल फरेष्ट इन, अकामा होटल, वर्णबास म्युजियम होटल र माउन्टेन ग्लोरी लिमिटेड यसमा समावेश छन्।

त्यस्तै, विकास बैंकतर्फ सालपा विकास बैंकले १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन अनुमति मागेको छ।

उत्पादन तथा प्रशोधन क्षेत्रमा जगदम्बा स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, पाल्पा सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्टसहित करिब १५ कम्पनीले ठूलो मात्रामा सेयर निष्कासनका लागि आवेदन दिएका छन्।

लगानी कम्पनी तर्फ ४ कम्पनीले ३ अर्ब १४ करोड बराबरको करिब १८ करोड ८६ लाख कित्ता आईपीओ ल्याउन अनुमति मागेका छन्। बरुण इन्भेष्टमेन्ट, सिड्स इनर्जी, शिभम् होल्डिङ र शिभशंकर इन्भेष्टमेन्ट यसमा पर्छन्।

माइक्रो लाइफ इन्स्योरेन्स तर्फ प्रोटेक्टिभ, स्टार र लिबर्टी नामका तीन कम्पनीले २२–२२ लाख ५० हजार कित्ता सेयर गरी ६७ लाख ५० हजार कित्ता आईपीओ पाइपलाइनमा राखेका छन्।

यसका अतिरिक्त डिस मिडिया, आइएमई लिमिटेड, नेपाल ब्रोडकाष्ट, कैलाश हेलिकप्टर, मेडिकेयर हस्पिटल, जीआई सोलारलगायतका कम्पनीले पनि अनुमति पर्खिरहेका छन्।

विशेषगरी जलविद्युत र उत्पादन–प्रशोधन क्षेत्रमा देखिएको आईपीओ आवेदनको चापले देशमा बढ्दो पुँजी आवश्यकताको संकेत गरेको विशेषज्ञहरूको टिप्पणी छ। सेबोनले प्रक्रिया पूरा भएपछि ती कम्पनीलाई चरणबद्ध रूपमा स्वीकृति दिने बताएको छ।

1

Scroll to Top