राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने काउन्टर साइक्लिकल बफरलाई शून्य प्रतिशत कायम गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै काउन्टर साइक्लिकल बफर नलाग्ने जानकारी दिएको हो ।
काउन्टर साइक्लिकल बफर भनेको आर्थिक मन्दीका बेला ऋण दिने क्षमता जोगाउन बैंकहरूले थप प्राथमिक पुँजी जुटाउनुपर्ने व्यवस्था हो। कुल गार्हस्थ उत्पादनको विस्तारभन्दा कर्जाको विस्तार तीव्र भएपछि सिर्जित जोखिम न्यूनीकरण गर्न यस्तो बफर कायम गर्नुपर्ने हुन्छ।
राष्ट्र बैंकले आव २०७९/८० देखि काउन्टर साइक्लिकल बफर लागू गरेको भए पनि पछिल्ला वर्षमा आर्थिक अवस्था र कर्जाको वृद्धिदरलाई हेरेर यसलाई शून्य प्रतिशतमै राख्दै आएको छ। आव २०८०/८१ मा प्राथमिक पुँजी अनुपात ८.५ प्रतिशतमा थप ०.५ प्रतिशत बफर कायम गर्नुपर्ने भए पनि पछिल्लो वर्षदेखि त्यो बाध्यता हटाइएको छ।
यस्तै, राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी नयाँ कार्यविधि २०८२ लागू गरेको छ। अर्थ मन्त्रालयले तयार पारेको कार्यविधि कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो।
नयाँ कार्यविधिअनुसार सहुलियत कर्जामा दिइँदै आएको ब्याज अनुदान ५० प्रतिशत घटाएर अधिकतम ३ प्रतिशतमा सीमित गरिएको छ। यस्तै, बैंकले लिन पाउने ब्याजदर २ प्रतिशतबाट घटाएर १.५ प्रतिशत कायम गरिएको छ। यससँगै कर्जाको सीमा भने बढाइएको छ र केही नयाँ क्षेत्रहरू पनि समावेश गरिएका छन्।
पुरानो कार्यविधिमा रहेका निर्यात उद्योग कर्जा, उच्च र प्राविधिक शिक्षा कर्जा तथा भूकम्पपीडित कर्जा हटाइएका छन् भने नयाँ कार्यविधिमा स्टार्टअप उद्यम कर्जा थपिएको छ। साथै, परम्परागत सीप तथा पेशाको आधुनिकीकरण र प्राकृतिक विपद् पीडितलाई सहयोग पुर्याउने प्रावधान पनि समावेश गरिएको छ।
नयाँ प्रावधानअनुसार कृषि तथा पशुपन्छी कर्जामा अधिकतम ५ करोड, महिला उद्यमशील कर्जामा २५ लाख, वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि २० लाख, शिक्षित युवा परियोजना कर्जा २० लाख, दलित समुदायको उद्यम विकास कर्जा २० लाख, स्टार्टअप उद्यम कर्जा २५ लाख, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा ५० लाख र प्राकृतिक विपद् पीडित आवास निर्माण कर्जा ५ लाख रुपैयाँसम्म उपलब्ध हुने व्यवस्था छ।
कार्यविधिअनुसार एउटै परिवारका एक जनाभन्दा बढी सदस्यले यो कर्जा लिन नपाउने र एकपटक स्वीकृत भएको कर्जा सीमा बढाउन नपाइने उल्लेख छ। सहुलियतपूर्ण कर्जामा बढीमा पाँच वर्षसम्म मात्र ब्याज अनुदान उपलब्ध हुनेछ।


