Banijya News

सानीभेरी जलविद्युत् आयोजनामा बैंकहरुले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने

1
1.5K Shares

रुकुम पूर्वको सिस्ने र पुधा उत्तरगंगा गाउँपालिकामा निर्माण हुने ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् आयोजनामा पाँच बैंकले ऋण लगानी गर्ने भएका छन्। एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनामा कुल लगानीको ७५ प्रतिशत हुन आउने ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी जुटेको हो।

आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा पाँचवटा बैंकले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको प्रवर्द्धक कम्पनी र बैंकहरूबीच सोमबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ।

आयोजनामा सिटिजन्ससँगै नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, सिदार्थ, सानिमा बैंकले लगानी गर्नेछन्। यो आयोजना निर्माण सम्पन्न गर्न ९ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। कूल ऋण लगानीमध्ये सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिलले १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगाले १ अर्ब २० करोड, सिदार्थले १ अर्ब र सानिमा बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्।

सोमबार भएको वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष अंगिस घिमिरेले यो आयोजना यसै वर्षदेखि निर्माण सुरु भई चार वर्षभित्र सम्पन्न गर्ने बताए। ‘यो आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने, उत्पादन अनुमतिपत्र लिनेलगायत

सम्पूर्ण कार्य भइसकेको छ,’ उनले भने, ‘अब ऋण लगानी पनि व्यवस्थापन भएकाले बर्खा सकिनबे वित्तिकै निर्माण सुरु गरी निर्धारित समयमै सम्पन्न गर्ने गरी काम गर्छौं ।’

कूल लगानीको ७५ प्रतिशत ऋण लगानी बैंकहरूको हुनेछ भने २५ प्रतिशत हुन आउने २ अर्ब ४० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपूँजी लगानी गर्नेछ। निर्माण सुरु गरेको ४ वर्षमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य कमपनीको छ। आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत् बाफिकोट सबस्टेशनमा जोड्ने गरी प्रसारण सम्झौता भएको छ।

आयोजना सञ्चालनमा आउँदा सुख्खा याममा ९८.७२७गिगावाट घन्टा र बर्षीयाममा १८२.११३ गिगावाट गरी कुल वार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि जलविद्युत्मा लगानी गर्दै आएको बताए। उनले बैंकले एकल लगानीसँगै आफ्‌नै अगुवाइ तथा सह अगुवाइमा जलविद्युत् आयोजनामा लगानी गर्दै आएको बताए

उनले अन्य बैंकहरूसँगको सह वित्तीयकरण पनि धेरै जलविद्युत् तथा हरित ऊर्जाका आयोजनामा लगानी गरेको बताए। स्वतन्त्र ऊर्जा उत्पादकहरूले स्वदेशी बैंकहरूसँग सहकार्य गरेर धेरै जलविद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेका छन्,’ उनले भने, ‘यसले देशको समग्र अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ ।’

उनले सिटिजन्स बैंकले लगानी गरेका मध्ये १६६.४०१ मेगावाटका ११ वटा जलविद्युत् आयोजना सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएको बताए। उनका अनुसार अहिले पनि बैंकले लगानी गरेका १ हजार ३४ मेगावाट बढीका २४ वटा। जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

बैंकले कूल १ हजार २०१ मेगावाटका ३५ जलविद्युत् आयोजनामा ऋण लगानी गरेको सीईओ पोखरेलले बताए। बैंकले अहिलेसम्म १४ वटा जलविद्युत् आयोजनामा अगुवाइ गरेर ऋण लगानी गरेको छ भने ३ वटा आयोजनामा सह-अगुवाइ तथा १४ वटा आयोजनामा सहभागी बैंकका रूपमा र ४ वटा आयोजनामा एकल लगानी गरेको पनि उनले बताए।

1

Scroll to Top