Banijya News

एक खर्ब ४० अर्ब पुग्यो सेयर धितो कर्जा, ऋण विस्तारमै रोकिँदै आधा दर्जन बैंक

1
1.3K Shares

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो (मार्जिन) कर्जाको मात्रा एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आव २०८०/८१ मा यस्तो कर्जा ९० अर्ब रुपैयाँ मात्र रहेकामा यस वर्ष ५६ प्रतिशतले वृद्धि भएको हो।

समग्र कर्जा प्रवाह ८.४ प्रतिशत मात्र बढ्दा सेयर धितो कर्जामा भने तीव्र उकालो लागेको छ। विशेषगरी १ करोडभन्दा माथिका ठूलो कर्जा ७६.९ प्रतिशतले बढ्दै असार मसान्तसम्म करिब ९९ अर्ब रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ।

यो वृद्धि नेपाल राष्ट्र बैंकले गत आव सेयर धितोसम्बन्धी नीति खुकुलो बनाएको र कर्जाको ब्याजदर एकल अंकमा झरेको कारण भएको हो। विगतमा ५० लाखभन्दा बढी सेयर धितो कर्जामा १२५–१५० प्रतिशत जोखिम भार कायम गरिएकोमा राष्ट्र बैंकले यसलाई घटाएर १०० प्रतिशतमा ल्याएपछि कर्जा विस्तार सहज भएको हो। साथै, व्यक्तिगत सेयर कर्जा सीमा पनि १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ।

तर, यसरी सेयर धितो कर्जा उच्च दरमा बढ्दा वाणिज्य बैंकहरूको पूँजी संरचनामा दबाब परेको छ। नियमानुसार कुनै बैंकले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशतभन्दा बढी रकम सेयर धितो कर्जामा दिन पाउँदैन। असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल प्राथमिक पूँजी ५ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा ४० प्रतिशत सीमा अनुसार २ खर्ब ३७ अर्बसम्म कर्जा दिन सक्ने अवस्था छ। हालसम्म १ खर्ब १६ अर्ब रुपैयाँ प्रवाह भइसकेको छ, जसले कुल प्राथमिक पूँजीको १९.५ प्रतिशत हिस्सा ओगटेको छ।

यद्यपि, नेपाल बैंक, नबिल, कुमारी, सिटिजन्स र सिद्धार्थसहित करिब आधा दर्जन वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्राथमिक पूँजीको ३०–३५ प्रतिशत नाघिसकेको छ। यसले गर्दा ती बैंकहरू अब थप कर्जा विस्तार गर्न कठिन अवस्थामा पुगेका छन्।

राष्ट्र बैंकले प्राथमिक पूँजी सीमा तोक्नुको उद्देश्य बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा जथाभावी कर्जा नदिउन् भन्ने हो। तर, ब्याजदर घटेको र नीति सहज भएपछि लगानीकर्ताले सेयर धितो कर्जाप्रति ठूलो आकर्षण देखाएका छन्।

पूर्वकार्यकारी निर्देशक गोपाल भट्टका अनुसार, सेयर धितो कर्जा विस्तारलाई नियामक धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यवस्थित गर्नुपर्ने भए पनि त्यो हुन नसकेको छ। उनको भनाइमा, मार्जिन लेन्डिङको सेवामा लगानीकर्ताले आफ्नो इक्विटीमार्फत जोखिम बहन गर्ने व्यवस्था हुनुपर्नेमा बैंकहरूकै सक्रियताले गलत अभ्यास विकास भएको छ।

1

Scroll to Top