Banijya News

प्रतिवद्धता अनुसार विदेशी लगानीकर्ताले ल्याएनन् वास्तविक लगानी

1
1.3K Shares

नेपालमा विदेशी लगानीकर्ताले प्रतिवद्धता गरेअनुसार वास्तविक लगानी नल्याउने प्रवृत्ति दोहोरिँदै आएको छ । गत आर्थिक वर्षमा उद्योग विभागमार्फत ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भए पनि १२ अर्ब १ करोड रुपैयाँ मात्र नेपाल भित्रिएको छ । यो कुल प्रतिवद्धताको १८.५० प्रतिशत मात्र हो ।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सन् १९९५–९६ देखि २०२२–२३ सम्म नेपालले स्वीकृत एफडीआईमध्ये औसत ३६ प्रतिशत मात्र वास्तविक रूपमा पाएको छ । पछिल्ला वर्षमा पनि सोही प्रवृत्ति कायम छ ।

२०७९–८० मा ३० अर्ब ७१ करोड बराबरको लगानी प्रतिबद्धता भए पनि वास्तविक लगानी ६ अर्ब १७ करोडमा सीमित रह्यो । त्यसैगरी २०८०–८१ मा ६१ अर्ब ७८ करोडको प्रतिवद्धता भए पनि ८ अर्ब ४० करोड रुपैयाँ मात्रै आयो । यसरी कुल लगानी प्रस्तावको तुलनामा गत आवमा १३.५९ प्रतिशत मात्र वास्तविक लगानी भित्रिएको तथ्यांकले देखाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी वातावरण अझै सहज नबनाएको कारण विदेशी लगानीकर्ताको विश्वास घटेको बताए । उनका अनुसार प्रक्रियागत झन्झट हटाएर सरकारी संयन्त्रलाई सहयोगी बनाउन सके छोटो समयमा ठूलो लगानी आकर्षित गर्न सकिन्छ ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष राजेशकुमार अग्रवालले पुराना ऐनकानुन, नीतिगत अस्थिरता र कर प्रणालीको जटिलतालाई मुख्य अवरोधका रूपमा औंल्याए । “पोलिसी निरन्तरता र कानुनी स्पष्टता नदिएसम्म ठूलो लगानी आउन गाह्रो छ,” उनले भने ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीका अनुसार प्रारम्भिक स्वीकृति पाएको लगानी योजनाअनुसार तत्कालै ल्याउनुपर्ने बाध्यता छैन । ठूला परियोजनामा ढिलाइ हुने, कतिपयले बिजनेस भिसाको दुरुपयोग गर्दै लगानी स्वीकृति मात्र माग्ने तर रकम नल्याउने प्रवृत्ति पनि देखिएको उनको भनाइ छ ।

सरोकारवालाहरूका अनुसार नीतिगत अस्थिरता, प्रशासनिक ढिलाइ, सरकारी निकायबीच समन्वय अभाव, भौतिक पूर्वाधारको कमजोरी, लाभांश फिर्ता लैजान कठिनाइ र बैंकिङ प्रणालीका अवरोध एफडीआईको प्रमुख चुनौती बनेका छन् ।

यद्यपि, सरकारले हालै गरेका सुधारात्मक पहललाई सार्थक बनाउन सके आगामी दिनमा प्रतिवद्धता वास्तविक लगानीमा रूपान्तरण हुने निजी क्षेत्रको अपेक्षा छ ।

1

Scroll to Top