Banijya News

रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति बनाउने कांग्रेसको तयारी

1
1.2K Shares

नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ।

समिति सभापति रहेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध सभापति चयन भएकी थिइन्।

त्यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापति कांग्रेस प्रतिनिधि सभा सांसद रामहरि खतिवडा थिए। निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको पाइएपछि संसदीय छानबिन समितिले सभापति खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको थियो भने उनले त्यसैका कारण प्रतिनिधि सभाको साउन २७ गते पदबाट राजीनामा दिएका थिए।

तर खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने अडान राख्दै आएका थिए। कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सदस्यमा लगेर उक्त समिति सभापति बनाउन लागेको हो। बिहीबार संसदीय सुनुवाइ समिति सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ।

कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार खतिवडालाई नै समिति सभापति पदमा पठाउने तयारीमा पार्टी छ। ‘रामहरिजीलाई संसदीय सुनुवाइ समिति सभापति बनाउने तयारी छ,’ ती पदाधिकारीले भने।

खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमै दोहोर्‍याउने पक्षमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का थिए तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मानेनन्, त्यसपछि ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति बनाउने निर्णय भएको थियो।

कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटि राष्ट्रिय सभाबाट सच्चाइसकिएको अवस्थामा कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई पठाउन लागेको हो।

कांग्रेसका ती पदाधिकारीका अनुसार प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई संसदीय सुनुवाइ समिति सभापति पदमा पठाउन खोजे पनि उनले मानेका थिएनन्।

खतिवडाले संसदीय समिति सभापतिभन्दा पनि आफू मन्त्री हुन पाए हुन्थ्यो भन्ने कुरा नेताहरूसँग राखेका थिए। ‘भविष्यको जिम्मेवारीको कुरा संसदीय सुनुवाइ समिति सभापति हुँदा पनि रोकिने कुरा होइन’ भनेर खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति पदमा उम्मेदवारी दिन पार्टीले भनेको स्रोतको भनाइ छ।

1

Scroll to Top