सरकारले ‘उत्कृष्ट’ कर्मचारी भन्दै सडक डिभिजन नुवाकोट प्रमुख सुबोध देवकोटालाई पुरस्कृत गरिरहेको बेला, सामाजिक सञ्जालमा उनी मातहतको बालाजु–ककनी सडक खण्डको दुर्दशाको फोटो र भिडियो भाइरल भइरहेको थियो। ती फोटो र भिडियो हेर्दा यस्तो लाग्छ, त्यो सडक काठमाडौंको नभई कुनै विकट ठाउँको हो, जहाँ सरकारले बजेट नै पठाएको छैन। तर, यथार्थ भने फरक छ: सरकारले बजेट पठाए पनि काम भएको छैन।
यस घटनाले सडक डिभिजन नुवाकोटका प्रमुख देवकोटाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। स्रोतका अनुसार, देवकोटाले जिम्मेवारी लिएको काममा खासै चासो दिँदैनन् तर शक्ति, पहुँच र राजनीतिक रवाफ भने सधैं देखाउँछन्। सडक डिभिजन नुवाकोटका प्रमुख देवकोटा आफ्नो कार्यसम्पादनभन्दा पनि शक्ति र पहुँचको दुरुपयोगका कारण चर्चामा छन्। विभिन्न घटनाक्रम र स्रोतले दिएको जानकारीअनुसार, उनी अहिले आफ्नो रवाफ देखाउँदै काठमाडौं डिभिजनमा सरुवा हुनका लागि सक्रिय छन्। उनमाथि काम नगरेको, वरिष्ठ कर्मचारीहरूलाई पन्छाएको र कानूनको समेत बेवास्ता गरेको आरोप लाग्ने गरेको छ।


