Banijya News

बन्दीपुर केवलकारको आईपीओमा २० लाख ७८ हजार जनाको हात रित्तो हुने

1.1K Shares

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ अर्को साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ अर्को साता बीच तिर बाँडफाँट सक्ने गरि काम भइरहेको हो ।

आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो ।

उक्त आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते अनुमति पाएको थियो । अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएसँगै कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण समेतलाई आईपीओ खुला गरेको हो। कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरी बाँकी बसेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको थियो ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्गस नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गलेसमयमै वित्तीय दायित्व बहन गर्ने कम्पनीको क्षमतामा मध्यमस्तरको जोखिम रहेका संकेत गर्छ। बन्दीपुर केवलकार होटल तथा पर्यटन सेक्टरको कम्पनी हो।


Scroll to Top