विकास बैंकहरुमा निष्क्रिय कर्जा बढेको छ । विकास बैंकहरुको पछिल्लो दुई आर्थिक वर्षको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणको तुलनात्मक अध्ययनले निष्क्रिय कर्जा बढेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूको कुल निष्क्रिय कर्जा २६ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ७ अर्ब ६३ करोड रुपैयाँले बढी हो, जसले वित्तीय संस्थाको जोखिम बढेको संकेत गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरूले ५ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्दा निष्क्रिय कर्जाको अनुपात ३.७६ प्रतिशत थियो। तर, पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा कर्जा प्रवाह बढेर ५ खर्ब २६ अर्ब रुपैयाँ पुगेसँगै निष्क्रिय कर्जाको औसत अनुपात पनि ५.०३ प्रतिशतमा उक्लिएको छ। यसले कर्जा व्यवस्थापनमा रहेका कमजोरीहरू उजागर गरेको छ।
व्यक्तिगत बैंकहरूको अवस्था हेर्दा, केही विकास बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात चिन्ताजनक रूपमा बढेको देखिन्छ। उदाहरणका लागि, ज्योति विकास बैंकको निष्क्रिय कर्जा ५.२९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ। त्यसैगरी, नारायणी विकास बैंकको निष्क्रिय कर्जा ५०.९७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको १२.३६ प्रतिशत पुगेको छ, जुन अत्यन्तै उच्च मानिन्छ।
यसको विपरीत, सिन्धु विकास बैंकमा निष्क्रिय कर्जाको दर १०.६३ प्रतिशतबाट ६.०३ प्रतिशतमा झरेको छ, जसले केही सकारात्मक संकेत देखाएको छ।


