सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको विरोधमा युवा पुस्ता (जेनजी) आज सडकमा उत्रिने भएका छन् । युवाहरूले भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका हुन् ।
सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरूले सरकार विरुद्ध स्वतः स्फूर्त प्रदर्शनको घोषणा गरेका छन् ।
सरकारले भदौ १२ गते २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने निर्णय गरेपछि त्यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको भन्दै जेनजी पुस्ताले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेको हो। उनीहरूले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारको रूपमा लिएका छन्।
रवि लामिछानेको समर्थन
यसैबीच, कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी पुस्ताको यस प्रदर्शनलाई समर्थन गरेका छन् । उनले आइतबार आफ्नो निजी सचिवालयमार्फत जारी गरेको सन्देशमा युवाहरूलाई विवेकपूर्ण र सक्रिय रहन आग्रह गरेका छन् ।
लामिछानेले भनेका छन्, “प्रिय जेनजी, तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ । धेरैको लागि यो पहिलो प्रदर्शन हुन सक्छ । शासकहरूले तपाईँहरूसँग विधि र विवेकको शासन दिएनन्, सामाजिक सञ्जालको सानो ठाउँ पनि खोसे । तर तपाईँहरूको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ ।“
उनले प्रदर्शनमा कुनै पनि किसिमको घुसपैठ वा उत्तेजनाबाट बच्न र विवेक प्रयोग गर्न पनि सुझाव दिएका छन् । उनले जेनजी पुस्ताले देशको इतिहास आफ्नै हातले लेख्ने अवसर पाएको भन्दै युवाहरूको प्रदर्शनप्रति शुभकामना र ऐक्यबद्धता प्रकट गरेका छन् ।
यसैबीच, उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको विरोधमा जेनजी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए।
हालै खाडी मुलुकहरु, युरोप र अमेरिकाको भ्रमण गरेर नेपाल फर्किएका कुलमानले नेपालमा बत्तीको उज्यालो मात्रै नभई सबै क्षेत्रमा सुशासन र समृद्धिको उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका थिए। उनले लाखौं युवा विदेश पठाएर देशले उन्नति गर्न नसक्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए। उनले देशमा निराशा व्याप्त रहेकोमा अब स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि उज्यालो नेपाल अभियान सुरु गरिएको जनाएका थिए।


