Banijya News

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले चलायो गोली, २ जना घाइते

1
1.1K Shares

नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।

प्रदर्शनले उग्र रुप लिएपछि शुरुवमा प्रहरीले अशुग्यास हानेको थियो । पछि गोली हानेको हो । सरकारको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित हजारौँ युवाहरू सबै सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन् । उनीहरू संसद भवनको पर्खाल चढेर र मुख्य गेट नाघेर भित्र छिरेपछि स्थिति नियन्त्रण बाहिर गएको हो ।

अति संवेदनशील र उच्च सुरक्षा क्षेत्रमा पर्ने संसद भवन परिसरभित्र प्रदर्शनकारी प्रवेश गरेपछि, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर निरन्तर गरिरहेको छ । साथै, परिसरभित्र छिरेका र बाहिर रहेका भीडलाई तितरबितर पार्न दर्जनौं सेल अश्रुग्याँस प्रहार गरिएको छ । अहिले संसद भवन परिसरभित्र र बाहिर प्रहरी तथा प्रदर्शनकारीबीच झडप चलिरहेको छ ।

यसअघि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरे पनि प्रदर्शनकारी पछि हटेका थिएनन्। प्रहरी दमनको प्रतिकार गर्दै उनीहरूले सबै ब्यारिकेडहरू तोडेर संसद भवनको गेटसम्म पुगेका थिए । केही युवाहरू प्रहरीको गार्ड हाउसको छतमा समेत चढेका थिए। सोही क्रममा आक्रोशित भीडले पर्खाल र गेटबाटै भित्र पस्ने प्रयास गरेको हो ।

युवाहरू संसदभित्र प्रवेश गर्दा भएको झडपमा सशस्त्र प्रहरीका एक जवान र एक प्रदर्शनकारी घाइते भएका छन् । घाइते सशस्त्रका जवानलाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ ।

अधिकांश कलेज र विद्यालयका विद्यार्थी रहेको प्रदर्शन सुरुमा शान्तिपूर्ण हुने भनिए पनि बानेश्वरमा प्रहरी अवरोधपछि यो एकाएक आक्रामक बन्न पुगेको हो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचार र अव्यवस्थाविरुद्ध आज बिहानैदेखि युवाहरू माइतीघर मण्डलामा भेला भएका थिए। राष्ट्रिय झण्डा बोकेर शान्तिपूर्ण रूपमा नाराबाजी गर्दै अघि बढेको जुलुस बानेश्वरमा प्रहरीले रोकेपछि तनाव सुरु भएको हो।

1

Scroll to Top