काठमाडौं जिल्लामा आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु चक्रपथभित्रको सम्पूर्ण क्षेत्रलाई लक्षित गरिएको छ ।
कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, साथै हवाई टिकट देखाउने यात्रुहरूलाई भने सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न अनुमति दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार कर्फ्यु तोड्ने जो कोहीमाथि कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।
कर्फ्यू लागू भएको क्षेत्र
काठमाडौँ महानगरपालिकाको चक्रपथभित्रको सम्पूर्ण भूभाग।
चार किल्ला: वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भाग।
प्रशासनद्वारा जारी विज्ञप्तिअनुसार, कर्फ्यूको अवधिमा पनि अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै: एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवतजावतमा सुरक्षाकर्मीले सहजीकरण गर्नेछन्।


