Banijya News

जेनजी आन्दोलनलाई रविको अपिल : सबै आन्दोलनकारी संयमित रहनुपर्छ

1.0K Shares

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सोमबार रिहा भएपछि आन्दोलनरत जेनजी पुस्तालाई संयमित हुन अपिल गरेका छन् ।

रास्वपा नेता दिपक बोहराले सभापति लामिछानेको अपिललाई सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गर्दै कानून बमोजिमको प्रक्रिया पूरा गरेर कारागारमुक्त बनेको जनाएका छन् ।

अपिलमार्फत लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाएकामाथि श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले देशका लुटेराहरूले ३ पुस्तासम्म लुटेर जोडेको सम्पत्ति पूर्णरूपमा राष्ट्रियकरण हुनुपर्ने र तिनलाई कानूनी दायरामा ल्याउनैपर्ने आवश्यकता औंल्याए ।

तर उनले आन्दोलनका क्रममा राष्ट्रका सम्पत्ति सुरक्षित राख्नुपर्नेमा जोड दिए । उनका अनुसार प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायतका संवेदनशील कार्यालय तथा दस्तावेजहरूको क्षति मुलुककै लागि अपूरणीय नोक्सानी हुने भएकाले सबै आन्दोलनकारी संयमित रहनुपर्ने बताए ।

लामिछानेले भने, ‘यो आन्दोलन विशुद्ध जेनजीको हो । अबको मुलुकको नेतृत्व जेनजीकै मागअनुसार र जेनजीकै परिकल्पना अनुरूप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु । म सधैं नागरिक सर्वोच्चताको पक्षमा छु ।’

रिहाइपछि आमनागरिकसामु प्रत्यक्ष उपस्थित भएका उनले मुलुकको कानूनप्रति आफू बफादार रहेको उल्लेख गर्दै भविष्यमा आइपर्ने आवश्यक कानूनी प्रक्रियामा पनि सहभागी हुन तयार रहेको बताए ।

अन्त्यमा उनले सचेत नागरिकको भूमिकामा सम्पूर्ण आन्दोलनकारीलाई संयमित हुन हार्दिक अनुरोध गरेका छन् ।


Scroll to Top